बाँदर आतङ्क रोक्न जैमुनीबासीको माग
बागलुङ । नगरपालिकाले समयमा मल र बिउ वितरण गर्न नसकेको, कृषि बालीमा क्षति पुग्दा क्षतिपूर्ति नपाएको र स्वास्थ्य बिमाबाट औषधी पाउन कठिन भएको दक्षिण बागलुङको जैमिनीबासीले गुनासो गरेका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकको लागि जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले अत्यावश्यक सेवामा नगरपालिकाले नागरिकको हितमा काम गर्नुपर्ने सुझाव दिएका छन् ।
उनीहरूले कृषि क्षेत्रलाई बचाउन नसके बसाइसराइ तीव्रता अझै बढ्ने चिन्ता व्यक्त गर्दै बाँदर आतङ्कले पनि किसानलाई नै पिरेको भन्दै गुनासो पोखेका छन् ।
झाडी र बुट्यान हटाउने काममा नगरपालिकाले साथ नदिएको, मल र बीउ समयमा नआएको र प्राकृतिक रुपमा पनि खडेरी, हावाहुरी र असिनाजस्ता प्रकोपले सताएकोले किसानको उत्पादनको बीमा हुनुपर्ने किसानको माग छ ।
जैमिनी १ का तिलक थापाले पटक पटक नगरपालिकामा आवाज उठाएपछि ढिला गरी मल आएको बताउँदै बीमा गरेकाहरूले समयमा औषधी नपाएकोले नगरपालिकाले अत्यावश्यक सेवामा चासो राख्ने र सेवा प्रवाहमा असर परे हस्तक्षेप गर्नुपर्ने सुझाव दिनुभयो ।
जैमिनी ६ का दलबहादुर थापाले बाँदर आतङ्कले खेतीपातीमा असर परेको गुनासो गर्दै प्राकृतिक स्रोत साधन उत्खननमा नगरपालिकाले अनुगमन गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख नरबहादुर पुनले कानुन संशोधन अभावमा विकासका काम रोकिएको भन्दै बाँदर नियन्त्रण र रुख काट्ने काम कानुनी समस्याले असर परेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्