तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश : सात दलद्वारा प्रदेश सभा भवन अगाडी प्रदर्शन

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेश सभा सदस्यहरूलाई कारबाही गरेर पद खारेज गरेको विरोधमा सात दलीय गठबन्धनले प्रदेश सभा घेराउ गरी प्रदर्शन गरेको छ ।

सात दल निकट नेता तथा कार्यकर्ताहरूले जनकपुरधामको कुवारमा रहेको प्रदेश सभा भवन अगाडी भेला भएर सभामुख रामचन्द्र मण्डलविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले सभामुखमाथि महाअभियोग दर्ता भएको बेलामा प्रतिशोध स्वरूप पाँच जना सदस्यहरूलाई कारबाही गरिएको दाबी गरेका छन् । 

नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले सभामुखमाथि महाअभियोगको प्रस्ताव प्रदेश सभामा पुगेपछि सोही दिन राति सभामुखले जसपाका ४ तथा नागरिक उन्मुक्तिका १ जना गरी पाँच जना सदस्यहरूमाथि गरिएको कारबाही प्रतिशोधपूर्ण भएको बताउनुभयो ।

सात दलका नेता तथा कार्यकर्ताले प्रदेश सभा घेराउ गरेपछि ठूलो सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

उपसभामुख बविता राउत ईशरको नेतृत्वमा प्रदेश सभा हलबाहिर चौरमा सात दलनिकट प्रदेश सभा सदस्यहरूको बैठक बस्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button