आन्दोलनमा आपराधिक उपद्रव र आगजनी गर्ने पाँच जना पक्राउ

मकवानपुर । गत २४ भदौमा जेन–जेड आन्दोलनका क्रममा हेटौँडामा भएका तोडफोड र आगजनी घटनामा संलग्न पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४५ वर्षका सुशिल पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा सुजन अधिकारी र सुरेन्द्र राना मगर लाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई आपराधिक उपद्रव मुद्दामा मकवानपुर जिल्ला अदालतले म्याद थप गरेको जनाएको छ।
त्यस्तै, बागमती प्रदेशसभा सचिवालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायत सरकारी भवनमा तोडफोड र आगजनी गरेको अभियोगमा सर्लाही बरथवा नगरपालिका–१ की २७ वर्षीया पुनम ठाकुर, प्रमोद महतो र हेटौँडा–८ का सागर (रोमबहादुर) घताने लाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।
२३ भदौमा स्थिति सामान्य रहेको हेटौँडामा २४ भदौका दिन आन्दोलन उग्र बनेपछि प्रदेश सरकारका संरचना, राजनीतिक दलका कार्यालय, व्यवसायी र नेताहरूका निजी सम्पत्तिमा व्यापक तोडफोड र आगजनी भएको थियो। यस क्रममा बागमती प्रदेशसभा सचिवालयका दुवै भवन, मन्त्रालयहरू, अन्य सरकारी कार्यालयहरू र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, पूर्वमन्त्री एकालाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र व्यवसायी अरुणराज सुमार्गीलगायतका घर तथा सम्पत्तिहरूमा क्षति पुगेको थियो।
मकवानपुर प्रहरीले घटनासम्बन्धी करिब एक हजारभन्दा बढी भिडियो फुटेज र प्रमाण सङ्कलन गरी सूक्ष्म अनुसन्धान अघि बढाएको जनाएको छ।
जेन–जेड आन्दोलनका घटनाको छानबिनका लागि गठित न्यायिक जाँचबुझ आयोगको निर्देशनपछि प्रहरीले यो कारबाही अघि बढाएको हो। ११ कात्तिकमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित अन्तर्क्रियामा आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले २४ भदौका घटनालाई पूर्ण फौजदारी अपराधको संज्ञा दिँदै दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका थिए।







प्रतिक्रिया राख्नुहोस्