तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा मतदाता नामावली दर्ताका लागि बढ्दै भीड

भक्तपुर । जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नेको भीड दिनप्रतिदिन बढ्दै गएको छ । दैनिक डेढ–दुईसय जनाबाट सुरु भएको भिड अहिले ८ सयभन्दा माथि पुगिसकेको छ । 

कार्यालयमा हाल दुई स्थानबाट फोटो खिच्ने कार्य हुँदै आएकोमा सेवा द्रुत बनाउन सोमबारदेखि थप दुई स्थानमा फोटो खिच्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।

प्रजिअ ढकालले निर्वाचन कार्यालयको भीड व्यवस्थापन गर्दै कामको गति बढाउन निर्वाचन कार्यालय पुगेरै आवश्यक निर्देशन दिएको बताउनुभयो ।

स्थलगत रुपमा मतदाता नाम दर्ता कार्य अवलोकन गर्दा भीड बढ्दै गएको देखिएपछि तत्काल कार्यक्षमता वृद्धि गर्ने निर्णय गरेको र सुरक्षा व्यवस्थापन पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।

जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरका अनुसार हालसम्म ७ हजारभन्दा बढी नयाँ मतदाता थपिइसकेका छन् । उहाँका अनुसार दैनिक डेढ–दुई सय जना नाम दर्ता गर्न आउने गरे पनि शुक्रबारदेखि यो सङ्ख्या बढेर ८ सय ६५ पुगेको छ । 

भीड बढेसँगै बिहान ८ बजेदेखि नै नाम दर्ता सेवा सुरु गरिएको छ । मतदाता नामावलीमा दर्ता गर्न आएकाहरूको एउटै माग छ, ‘काम छिटो छरितो भए अरू केही चाहिँदैन ।’

जिल्ला प्रशासन कार्यालयले व्यवस्था गरेको थप जनशक्ति र प्राविधिक सहयोगले आगामी दिनमा सेवाग्राहीलाई थप सहज हुने अपेक्षा सेवाग्राहीले गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button