पोखरा र जापानको ओत्सुकी नगरबीच पर्यटन, प्रविधि र शिक्षा आदानप्रदानका विषयमा छलफल

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटनको राजधानी पोखरा र जापानको ओत्सुकी नगरबीच अनुभव आदानप्रदानका साथै पर्यटन, प्रविधि, शिक्षा र सद्भावना भ्रमणका विषयमा छलफल भएको बताउनुभयो । दुवै नगरबीच विकास साझेदारी र जनसम्बन्धको आयाममा सहकार्यका सम्भावनाबारे चर्चा भएको उहाँले उल्लेख गर्नुभयो ।
हिमालको काखमा रहेका पोखरा र ओत्सुकी दुवै नगरबीच पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको उहाँले उल्लेख गर्नुभयो । छलफलका क्रममा ओत्सुकी नगरका प्रमुख कोबायसीले त्यहाँको छिमेकी नगर होकुतोका नगर प्रमुखको तर्फबाट यसअघि पोखरा र होकुतो नगरबीच भएको पर्वतीय नगर मित्रता समझदारी पत्र पोखराका मेयर आचार्यलाई हस्तान्तरण गर्नुभयो । उक्त समझदारी अनुसार पोखरा र होकुतोका नागरिकहरू बीच पर्वतीय भूगोल, संस्कृति र इतिहासप्रतिको आपसी सम्मानका माध्यमबाट द्विपक्षीय सहकार्य र जनसम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाइएको थियो ।
ओत्सुकी नगरका प्रमुख कोबायसीले पोखरा आफूले देखेका सबैभन्दा सुन्दर शहरमध्ये एक रहेको भन्दै, प्राकृतिक तथा भौगोलिक दृष्टिले पोखरा र ओत्सुकीबीच धेरै समानता रहेको बताउनुभयो । पोखरासँग सम्बन्ध विस्तार र सहकार्य गर्न आफू इच्छुक रहेको उल्लेख गर्दै उहाँले पर्यटन, ज्ञान–सीप र प्रविधि आदानप्रदानमा संयुक्त पहल गर्न तत्पर रहेको समेत बताउनुभयो ।
ओत्सुकी नगरबाट आएका प्रतिनिधिमण्डलमा नगर प्रमुख कोबायसीसहित सिनियर अफिसर काजुया सुगिमोतो, होकुतो नगर कानुन विभाग प्रमुख हाजीमी ओसिवा, उद्योग तथा पर्यटन विभाग प्रतिनिधि सिन्जी यामादा र नेपाल–जापान फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष हिरोमी इसिओका सहभागी हुनुहुन्थ्यो ।
पोखरा महानगरको तर्फबाट नगर प्रमुख आचार्यसँगै प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, सूचना प्रविधि अधिकृत सुवास ढुङ्गाना र वडा सदस्य पूर्ण न्यौपाने लगायतका सहभागी हुनु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्