तपाईँ सुन्दै हुनुहुन्छः

क्षतिपूर्ति नपाएपछि सामलिङ र माइखोला हाइड्रोविरुद्ध स्थानीयको सङ्घर्ष घोषणा

इलाम। इलाम नगरपालिका–८ महमिरका स्थानीयवासीले सामलिङ र माइखोला जलविद्युत् आयोजनाविरुद्ध सङ्घर्ष कार्यक्रम घोषणा गरेका छन्।

इलाम बजारस्थित पत्रकार महासङ्घ इलाम शाखाको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रभावित स्थानीयहरूले लामो समयदेखि बेवास्ता हुँदै आएको सामाजिक उत्तरदायित्व र क्षतिपूर्ति सम्बन्धी समस्या तत्काल समाधान गर्न माग गरेका हुन्।

स्थानीयका अनुसार, आयोजनाहरूले स्थापना भएदेखि नै समुदायप्रति कुनै जिम्मेवारी निर्वाह नगरी शिक्षा, स्वास्थ्य, वातावरण, रोजगारी र सामाजिक विकासका क्षेत्रमा योगदान नपुर्‍याएको आरोप लगाएका छन्। उनीहरूले विभिन्न वाचा तथा सम्झौता कार्यान्वयन नगरी ढिलासुस्ती गर्दै आएको बताए।

पत्रकार सम्मेलनमा वक्ताहरूले आयोजनाले क्षतिपूर्ति नदिएको, घरजग्गा मापन र मूल्याङ्कनमा मनोमानी गरेको, पुनः स्थापनाका काम अधुरो छोडेको र सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम अवरुद्ध गरेको आरोप लगाए।

स्थानीयहरूले अब आफ्ना अधिकारका लागि आन्दोलनमा उत्रनुको विकल्प नरहेको चेतावनी दिँदै प्रारम्भिक चरणमा आयोजना क्षेत्रका निर्माण कार्य रोक्ने, विरोधसभा र प्रदर्शन गर्ने तथा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

आयोजनाको क्षेत्रका विभिन्न प्रभावित बस्तीका प्रतिनिधिहरूको उपस्थितिमा जारी विज्ञप्तिमा, स्थानीय जनताको भावना बुझेर तत्काल सुधारात्मक कदम चाल्न आयोजनाहरूलाई आग्रह गरिएको छ।

यसअघि पनि महमिरका स्थानीयवासीहरूले सामाजिक उत्तरदायित्वका विषयमा ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएका थिए। तर माग सम्बोधन नभएपछि उनीहरूले थप सशक्त आन्दोलनका कार्यक्रमसहित सङ्घर्ष अघि बढाउने चेतावनी दिएका छन्। स्थानीयले पटक–पटक ध्यानाकर्षण गर्दा पनि आयोजनाले ‘झारो टार्ने’ प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button