तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पुलिस क्लब बन्यो महिला झापा गोल्डकपको च्याम्पियन

झापा । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि चुमेको हो ।

२२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । रेखाले पेनाल्टी बक्सभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिना देउवाले गोलकिपरलाई कुनै मौका नदिई बल जालीभित्र पठाउँदै पुलिसलाई १–० को अग्रता दिलाइन् । अन्ततः त्यही गोल निर्णायक बन्यो ।

उपाधिसँगै पुलिसले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी पायो । उपविजेतामा सीमित एपिएफले नगद ५ लाख रुपैयाँ प्राप्त गर्‍यो ।

फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन् । उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।

प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन् । अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदयमान खेलाडी जेनिफर राना मगर (आर्मी) बने । सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डे लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button