तपाईँ सुन्दै हुनुहुन्छः

सोलुदूधकुण्डमा प्राविधिक शिक्षालय सञ्चालन

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले लागत साझेदारीमा साढे तीन करोडमा निर्माण बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा निर्माण सम्पन्न भएको सुविधा सम्पन्न भवनको आइतबार नगर प्रमुख नाम्गेलजाङबु शेर्पाले उद्घाटन गर्नुभएको हो । 

स्थानीय सरकारको लागत साझेदारीमा फ्रान्सेली दाताहरूको समूह ‘सोलु च्याम’ले सञ्चालनमा ल्याएको  नुम्बुर भोकेसनल ट्रेनिङ सेन्टरमा विभिन्न पाँच वटा विधामा प्राविधिक शिक्षा दिन थालिएको छ । सिकर्मी, प्लम्बर, ईलेक्ट्रिसियन, होटेल व्यवस्थापन र कुकको क्षेत्रमा ६० जना विद्यार्थीलाई खाना बस्न सहित निःशुल्क अध्यापन गरिने संस्थाले जनाएको छ ।

उद्घाटनका क्रममा नगर प्रमुख शेर्पाले समग्र जिल्लाको शैक्षिक विकासमा योगदान गर्ने गरी खोलिएको यस शिक्षालयले प्राविधिक धारको पढाइ मार्फत दक्ष जनशक्ति उत्पादन गर्दै स्वदेशमै रोजगारको ढोका खुल्ने बताउनुभयो । नगरपालिका तथा जिल्लाभरिका युवाहरूलाई स्वरोजगारमुलक सीप सिकाई विदेश पलायनबाट रोक्ने उद्देश्यले निर्माण गरिएका आधुनिक र सुविधा सम्पन्न प्राविधिक शिक्षालयमा निःशुल्क रूपमा पढाउन थालिएको नगर प्रमुख शेर्पाले बताउनुभयो । 

नगरपालिकाको २० प्रतिशत र सोलु च्यामको ८० प्रतिशत लगानीमा स्थापना गरिएको यस केन्द्रले दोस्रो चरणको  तालिम आज कार्तिक २४ गतेबाट सुरु गर्ने जनाएको छ । उक्त तालिममा १५ वर्ष देखि १९ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि आधुनिक प्रयोगशाला र इन्टर्नसिप सुविधा समेत उपलब्ध हुने छ । 

पहिलो प्राथमिकतामा नगरपालिका र बाँकी जिल्लाभरिका विद्यार्थी भर्ना गरिएको छ । एसइईको परीक्षा दिएका विद्यार्थीहरू आवासीय रूपमा उक्त कक्षामा सामेल भएका छन् । काठमाडौँ र विराटनगरबाट दक्ष प्रशिक्षक ल्याइएको उक्त प्राविधिक शिक्षालयमा सबै विद्यार्थीका लागि निःशुल्क खाना बस्नको व्यवस्था मिलाइएको छ । 

विद्यार्थीहरूलाई अङ्ग्रेजी भाषा, सूचना प्रविधि, गणित, व्यवस्थापन र लेखा विषयको अध्ययन अनिवार्य गरिएको छ । तालिमपछि रोजगारी र उद्यमशीलता सम्बन्धी सहयोग र परामर्श पनि प्रदान गरिनेछ  । जहाँ पहिलो चरणमा ३० जना विद्यार्थीहरूको केही समयदेखि तालिम भइरहेको छ । उक्त तालिम २०२७ सम्म सञ्चालन हुने छ । 

यसैबिच केही समय अघि नगरपालिका र सोलु–च्याम संस्थाबिच नुम्बुर बह प्राविधिक शिक्षालय दिगो रूपमा सञ्चालन गर्न पाँच वर्षका लागि ११ करोड २३ लाख ७५ हजार रुपियाँको सहयोग सम्झौता भइसकेको छ । 

व्यावसायिक शिक्षा लिनकै लागि लाखौँ खर्च गरेर काठमाडौँ धाउनुपर्ने बाध्यता रहेको अवस्थामा प्राविधिक शिक्षालय खुलेसँगै निःशुल्क रूपमा जिल्लामा नै पढ्न पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रशिक्षार्थी प्रियंसा राईले बताउनुभयो । इलेकट्रोनिक्स विधामा प्रशिक्षण लिइरहनुभएकी राईले तालिम धेरै राम्रो भएकोले यसमै आफ्नो भविष्य देखेको उहाँको भनाइ छ । आफ्ना छोराछोरीलाई गाउँघरमै व्यावसायिक शिक्षा दिन पाउँदा अभिभावकहरूले खुसी व्यक्त गर्नुभएकाे छ । 

कार्यक्रममा सोलु च्यामका अध्यक्ष फ्रान्सेली नागरिक पिएर, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङ, प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डे, सोलुदूधकुण्ड नगरपालिकाका सामाजिक विकास समिति संयोजक सोनामग्याल्जेन शेर्पा लगायतले यो शिक्षालय जिल्लाकै गौरव भएको बताउनुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button