तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज विमानस्थलमा पौने ३ अर्बमा सुविधा सम्पन्न नयाँ टर्मिनल भवन निर्माण

नेपालगञ्ज । बाँकेको राँझास्थित नेपालगञ्ज विमानस्थलमा सुविधा सम्पन्न नयाँ टर्मिनल भवन निर्माण गरिएको छ । भ्याट बाहेक कुल २ अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ रुपैयाँको लागतमा टर्मिनल भवन निर्माण गरिएको हो । २०७९ पुसबाट काम सुरु गरेको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीले तीन वर्ष अर्थात् २०८२ पुसमा काम सक्ने गरी काम सकारेको थियो । तर, यो कम्पनीले दुई महिना अगाडि नै निर्माण कार्य पूरा गरेको हो ।

नवनिर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् । ५ हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु चेकिङ काउन्टर १४ वटा, भिआइपी रुम तीन वटा, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन चेकजाँचका लागि अलग(अलग कोठाहरू निर्माण गरिएका छन् ।

भविष्यमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि अलग(अलग यात्रु प्रस्थान र आवागमन ढोकाहरू तयार गरिएको छ । पिकआवरमा नवनिर्मित टर्मिनल भवनको यात्रु क्षमता प्रति घण्टा ६२८ छ । नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै ५ देखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको विकास गरिएको छ ।

सो नयाँ टर्मिनल भवन क्षेत्रमा एप्रोन अर्थात् जहाज पार्किङ गर्ने ठाउँ पनि निर्माण गरिएको छ । जसमा एटिआर–७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा छ । त्यस्तै, नयाँ टर्मिनल भवनको परिसरमा सवारी साधन पार्किङको छुट्टै ठाउँ पनि निर्माण गरिएको छ । त्यहाँ मोटरसाइकल १५५, इभी गाडी चार्जिङ स्टेसनसहित १० गाडी, फोर ह्विल सानो गाडी १०२, बसहरू पाँच वटा, अटो रिक्सा ३० वटा पार्किङ गर्ने पार्किङस्थल निर्माण गरिएको छ । 

नवनिर्मित टर्मिनल भवनको नागरिक उड्डयन प्राधिकरणले निरीक्षण अनुगमन गरेको छ । अनुगमन निरीक्षण भइसकेकाले अब छिट्टै टर्मिनल भवन हस्तान्तरण गरिने निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माले बताउनुभयो । त्यसपछि उक्त टर्मिनल भवन प्रयोगमा आउनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button