तपाईँ सुन्दै हुनुहुन्छः

प्रचार–प्रसारको अभावमा माछापुच्छ्रे गाउँपालिकाका पर्यटकीय गन्तव्य ओझेलमा

पोखरा । प्रचार–प्रसारको कमीका कारण कास्कीको माछापुच्छ्रे गाउँपालिका भित्र रहेका धेरै पर्यटकीय गन्तव्य ओझेलमा परेको जनप्रतिनिधि तथा स्थानीयवासीले गुनासो गर्नुभएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ्रे–६ ह्याङजाकोटमा आयोजित ‘माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पोखराको मुख्य बजार क्षेत्रसँग नजिक रहेर पनि गाउँपालिकाका आकर्षक गन्तव्य प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले गाउँपालिकाभित्र धेरै सम्भावना बोकेका पर्यटकीय स्थलहरू रहेको तर प्रचार–प्रसारको अभावमा ती गन्तव्य ओझेलमा परेको गुनासो गर्नुभयो । मर्दी हिमाल र कोरी पद मार्गमा पर्यटनको सिजनमा अत्यधिक पर्यटकहरूको भिडभाड हुने हुँदा सिजनमा पहिला खबर गरेर मात्र आउनुपर्ने अन्यथा बस्ने ठाउँको अभाव हुने गरेको अध्यक्ष गुरुङले जनाउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले पर्यटन विकासका लागि सुझाव र सहकार्य गर्न सबैलाई आग्रह गर्नुभयो । ए क्यापका कारण आफूहरूले चाहेर पनि पालिकामा धेरै पर्यटन पूर्वाधार निर्माणदेखि कृषि प्रवर्द्धन गर्न समेत कठिनाइ भएको दाबी गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले पालिकामा खेलकुद र पर्यटन दुवैको उत्तिकै सम्भावना रहेको दाबी गर्नुभयो । वडाको १ को खुमै डाँडा र ९ को मर्दी हिमाल सहित वडा दुर्गम क्षेत्र भए पनि उत्तिकै पर्यटनको सम्भावना रहेको जनाउनु भयो । अघिल्ला वर्षमा वार्षिक १६ करोड राजश्व सङ्कलन भएको पालिकामा पछिल्लो समयमा एक्यापका कारण १ करोड २५ लाख मात्र राजश्व सङ्कलन भएको जनाउनुभयो ।  

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एम.बी. आस्था मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष टेकनाथ गौतम, ह्याङजाकोट सामुदायिक होमस्टेका अध्यक्ष ईश्वर गुरुङ, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल र महासङ्घ कास्कीका अध्यक्ष माधव बराल, मञ्चका उपाध्यक्ष राजाराम पौडेल, महासचिव परशुराम शर्मा लगायतले माछापुच्छ्रे गाउँपालिकाको कृषि पर्यटन, खेलकुद पर्यटनको अथाह सम्भावना रहेको दाबी गर्नुभयो ।

दृष्टिविहीन क्रिकेटर विनिता पुनलाई सम्मान

अन्तरक्रियाको अवसरमा नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई नगदसहित सम्मान गरिएको छ । भारत र श्रीलङ्कामा आगामी नोभेम्बर १२ देखि २३ सम्म हुने पहिलो टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि चयन हुनु भएको विनीतालाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नगद रु. ७ हजार ७ सय ७७ सहित सम्मान गरेको हो ।

माछापुच्छ्रे गाउँपालिका–१ की बासिन्दा विनिता अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो नेपाली दृष्टिविहीन खेलाडी हुनुहुन्छ । उहाँलाई गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ र मञ्च गण्डकीका अध्यक्ष एम.बी. आस्था मगरले संयुक्त रूपमा सम्मान गर्नुभएको हो । उक्त अवसरमा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्षमा हालै चयन हुनुभएको दीपक गोदारलाई समेत कार्यकालको सफलताको कामना सहित स्वागत सहित प्रशंसा पत्र प्रदान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button