राप्तीसोनारी नेचर रनको उपाधि करण र आयुसालाई
नेपालगञ्ज । दोस्रो राप्तीसोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसा सिंह ठकुरीले जितेका छन् । एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को वार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्तीसोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षित गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको हो ।

आज राप्तीसोनारीको मदुवामा भएको राप्तीसोनारी नेचर रनको दोस्रो संस्करणमा छात्रतर्फ नवीन प्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो भए । छात्रतर्फ रामबहादुर बिक, सुशान्त पुन मगर, दिपेन्द्र बस्खोर, रोहित दहित, समिर थारु, विशाल सुनार, आशीक थारु शीर्ष दश भित्र आए । त्यसैगरी छात्रातर्फ अनिसा थारु दोस्रो र अञ्चल कुमारी थारु तेस्रो भए । यसमा मिना बिष्ट, अन्जु सुनार, अनुजा थारु, सन्जु थारु, रन्जिता चौधरी, निस्मा थारु, राम कुमारी थारुले शीर्ष दशभित्र स्थान बनाए ।
पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद रु. ५ हजार, ३ हजार र १ हजार तथा पदकले पुरस्कृत गरियो । विजयी खेलाडीलाई राप्तीसोनारी गाउँपालिका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा नम्बर ५ का अध्यक्ष झगरु थारु, वडा नम्बर २ का कार्यवाहक अध्यक्ष दीपबहादुर बुढाथोकी, राप्तीसोनारी खेलकुद विकास समितिका संयोजक तेज बहादुर सुवेदी, मधु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुल बहादुर केसी, राष्ट्रिय खेलाडी बालकृष्ण चौधरी र तीर्थ ओली लगायतले पुरस्कार वितरण गरे । कार्यवाहक अध्यक्ष खड्काले राप्तीसोनारी नेचर रनलाई गाउँ पालिकाको वार्षिक कार्ययोजनामा सम्बोधन गर्ने र सबै नौ वटै वडाले यस कार्यक्रममा आर्थिक लगायत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
करिब १ सय ३० जनाले भाग लिएको दौडबाट शीर्ष दश जनालाई यही मङ्सिर ६ गते शनिवार हुने ११औँ धारा नेपालगञ्ज म्याराथनमा स्वतः भाग लिन पाउने गरी पुरस्कृत गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी गराए । धारा नेपालगञ्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत असोजमा गौघाट ग्रीन रन गरिएको थियो । काठमाडौँ २५ के हेरिटेज रेस, नेपालगञ्ज १० नाइट रन, कर्णाली हाफ म्याराथन समेत नेपालगञ्ज म्याराथनकै भगिनी इभेन्टका रुपमा सञ्चालित छन् ।








प्रतिक्रिया राख्नुहोस्