यलुङ रि हिमाल आरोहणका क्रममा बेपत्ता आरोहीहरूको खोजी कार्य स्थगित
सात मध्ये दुई जनाको मात्र शव भेटियो

दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणको क्रममा हिम पहिरोमा परी बेपत्ता आरोहीहरूको खोजी कार्य शुक्रवारबाट स्थगित गरिएको छ ।
सोमवार हिम पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी मङ्गलवार बाटै सुरु गरिएको थियो ।
“अब हिउँ निक्कै कडा भएको छ र त्यसलाई खन्न सम्भव देखिँदैन, त्यसैले हाललाई खोजी कार्य स्थगित गर्ने निर्णयमा पुगेका छौँ”– खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाले भन्नुभयो ।
“खोजीको क्रममा दुई जना विदेशी आरोहीको शव भेटिएको छ । दुई नेपालीसहित पाँच जना अवस्था अज्ञात छ हाललाई खोजी गर्न सम्भव भएन”, उहाँले भन्नुभयो । भेटिएका शवमा फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे र इटलीका पाउलो कोको को रहेको पासाङ किदर शेर्पाले जानकारी दिनुभयो ।
“अब खोजी कार्य कहिलेबाट सुरु हुन्छ भन्ने स्पष्ट जवाफ आफूसँग छैन । त्यो मौसममा निर्भर गर्छ”, उहाँले भन्नुभयो, “तर यो सिजनमा सम्भव छैन ।”
गत कार्तिक ११ गते दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ को रोल्वालिङ क्षेत्रमा पर्ने ५६३० मिटर उँचाइको यलुङ रि हिमाल आरोहणको लागि गाइड र आरोही गरी १५ जनाको टिम पुगेको थियो । कार्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि निस्किएको टिम करिब ८ बजे यलुङ रिको चुचुरा पुग्नु केही मिनेट अघि हिम पहिरोमा परेका हुन् ।
मङ्गलवारबाट सुरु भएको खोज तथा उद्धारको क्रममा सोही दिन आठ जनाको सकुशल उद्धार गरिएको थियो । चार दिनको अवधिमा बेपत्ता दुई विदेशीको शव भेटिए पनि दुई नेपालीसहित पाँच जनाको अवस्था अज्ञात छ । सबैतिर हिउँले ढाकिएको छ र हिउँ निक्कै कडा भइसकेको छ, खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाले भने– अब तत्काललाई पुरिएका शवहरू निकाल्ने सम्भावना देखिँदैन ।

खोज तथा उद्धारको लागि नेपाल नेश्नल माउण्टेन गाइड एसोसिएशनबाट पासाङ किदर शेर्पा, रितन जाङ्वु शेर्पा, छिरिङ सोनाम लामा र पासाङ तेन्वा शेर्पा, ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पा तथा सिम्रिक एयरका दुई विदेशीसहित चार जना गरी नौ जनाको टोली खटिएको थियो ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले पनि खोजीको लागि पुगेको टोलीले अब यो सिजनमा खोज कार्य सम्भव नहुने भएकोले फर्कन लागेको कुरा जानकारी गराएको बताउनुभयो ।
खोज तथा उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि गएको तर मौसमका कारण उक्त टोली ना गाउँबाट अगाडि बढ्न नसकेको गरुण दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताउनुभयो ।
खोजी तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाले एक महिना अघि मात्र अक्टोबर ७ तारिखमा आठ जना महिलासहित यलुङ रि हिमालको सफल आरोहण गर्नुभएको थियो ।
हिम पहिरोमा परी दुई जना नेपाली दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ का पदम तामाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्की तथा विदेशी फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे (पासर्पोट नम्बर 9DK92514) एक जना, इटलीका पाउलो कोको (पासर्पोट नम्बर YB6411963 ) र मार्कोस किरचिलर (पासर्पोट नम्बर YB3843711 ) दुई जना, जर्मनका ज्याकोब इसरिवर (पासर्पोट नम्बर CHIHX6HRZ) एक जना तथा क्यानेडियन मार्को डि मारसेलो (पासर्पोट नम्बर P823193NG) एक जना गरी सात जना बेपत्ता भएका थिए ।







प्रतिक्रिया राख्नुहोस्