तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताउनुभएको छ । 

प्रतिनिधिसभाका सभामुख, उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवम् प्रदेशसभाका सभामुख उपसभामुखसँगको शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति जति बनाउन सक्छौ त्यति नै लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुन्छ भन्ने कुरा बिर्सन नहुने स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन प्रतिनिधिसभा सदस्यको आगामी फागुन २१ गतेका निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा दायित्व हो भन्ने मर्म बुझेर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।  

राष्ट्रपति पौडेलले संसदीय प्रणालीको मजबुती कुनै एक दल, एक सरकार वा एक नेतृत्वको मात्र उत्तरदायित्व नभई सामूहिक राष्ट्रिय दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ संसद् र सरकारको विशिष्ट भूमिका भनेकै जनताको आवाजलाई सुनिन सक्ने, बुझिन सक्ने र कार्यान्वयन गर्न सक्ने संरचना निर्माण गर्नु हो ।’ 

उहाँले नेपालको संविधान केवल एउटा कानुनी दस्ताबेज मात्र नभई यो हाम्रो सहयात्रा, सहमति र सामूहिक सङ्कल्पको मार्गचित्र भएको बताउँदै यसको संरक्षणमा हामी सबैको  प्रतिबद्धता भएको बताउनुभयो । राष्ट्रपति पौडेलले असन्तुष्ट स्वरहरूलाई बेवास्ता गरेर होइन, सुनेर समाधान खोज्ने नीति सबैमा हुनुपर्ने स्पष्ट पार्नुभयो । 

राष्ट्रपति पौडेलले नेपालको संविधानले राष्ट्रपतिलाई कुन अवस्थासम्म हस्तक्षेप गर्ने अधिकार दिएको छ  भन्ने सबैलाई जानकारी भएको बताउँदै मुलुक जटिल र गम्भीर अवस्थामा पुगेको अवस्थामा त्यो आपत्तिबाट मुलुक र जनता जोगाउन मात्र कार्यकारी भूमिकामा देखिने जस्तो गरी निर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्ने अवस्थाको दुरुपयोग नहोस् भन्नेमा म चिन्तित र सचेत छु ।’ 

उहाँले मुलुकलाई फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेका सुरक्षित अवतरण गराउने जिम्मेवारी राजनीति दलहरूको रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले तर राजनीतिक दलका नेताहरूले मुलुकको यथार्थ अवस्थालाई नजरअन्दाज गरेर अभिव्यक्ति दिँदा त्यसले देश र जनतालाई अन्योलमा पार्ने बताउँदै भन्नुभयो– ‘राजनीतिक दल र दलका नेताहरूले देश र जनतालाई अन्योलमा राख्ने होइन । मुलुकलाई अन्यौलताबाट मुक्त गराउने नेताहरूको धर्म हो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button