विहार विधान सभा चुनावले सीमानाका भोली देखि बन्द, रेल पनि नचल्ने
जनकपुरधाम । भारतको बिहार राज्यमा भइरहेको विधान सभा निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर मधेस प्रदेशसँग जोडिएको विभिन्न जिल्लाका सीमानाका भोली देखि बन्द हुने भएको छ ।

मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही तथा रौतहटका जिल्ला प्रशासन कार्यालयहरूले आज सूचना जारी गर्दै भोलि साँझ ६ बजेदेखि मङ्गलवार साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाएको हो ।
बिहार राज्यमा विधान सभा निर्वाचन अन्तर्गत मङ्गलवार दोस्रो चरणको मतदान हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमानाका बन्द गर्न लागिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले जारी गर्नु भएको सूचनामा उल्लेख छ ।
भोलि शनिवार साँझ ६ बजेदेखि मङ्गलवार साँझ ६ बजेसम्म नेपाल–भारत सीमानाकामा मानवीय/आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रूपले बन्द रहने सूचनामा उल्लेख रहेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत सूचना जारी गर्दै मङ्गलवार साँझ ६ बजेसम्म सीमानाका बन्द रहने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलले यसअवधिमा नेपाल–भारत सीमानाकामा मानवीय/आकस्मिक सेवा बाहेकका आवागमन बन्द रहने जनाउनु भएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गर्दै बिहार राज्यको सितामढी तथा पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको विधान सभाको निर्वाचन हुने भएकाले सीमानाका बन्द हुने जनाएका हुन् ।
यसै बीच नेपाल–भारत सीमानाका बन्द हुने भएपछि महोत्तरीको बिजलपुर–कुर्था–जनकपुरधाम–जयनगर ब्रोडगेज रेल सेवा समेत बन्द हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमानाका बन्द हुने भएकाले भारतको जयनगरसम्म पुग्ने रेल सेवा शनिवार साझ देखि बन्द हुने जनाएको छ । सीमानाका खुलेपछि पुनः सेवा सुचारु हुने पनि रेल्वे कम्पनीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्