बैतडीमा वन पैदवार र जडीबुटी निकासीबाट १० लाखभन्दा बढी राजश्व संकलन
बैतडी । बैतडीमा वन पैदवार र जडीबुटी निकासीबाट गत आर्थिक वर्षमा १० लाख ८२ हजार ६५७ रुपैयाँ राजश्व संकलन भएको छ। डिभिजन वन कार्यालय बैतडीका अनुसार काठ निकासीबाट ६ लाख ५६ हजार ४५७ रुपैयाँ र जडीबुटी निकासीबाट ४ लाख २६ हजार २०० रुपैयाँ राजश्व संकलन भएको हो।
निजी वनबाट ७७ हजार १८५ क्यूफीट र सामुदायिक वनबाट १२ हजार ५८८ क्यूफीट काठ निकासी भएको थियो भने १ लाख १५ हजार २०० केजी जडीबुटी संकलन गरिएको सूचना अधिकारी मदन राज जोशीले जानकारी दिनुभयो।
बैतडीमा सल्ला र उतिस प्रजातिको काठ बढी निकासी हुने गरेको छ। जडीबुटीमा भने रिट्ठा, तेजपात, अमला, चुथ्रो, सुगन्धवाल, तिमुर, कचुर र पाङर निकासी हुने गरेको छ।
काठ निकासीमा सम्बन्धित स्थानीय तहले १० प्रतिशत र प्रदेश सरकारले १५ प्रतिशत राजश्व लिने प्रावधान छ।








प्रतिक्रिया राख्नुहोस्