तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व छली प्रकरण : कर अधिकृत र ठेकेदारविरुद्ध एक करोडको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

आयोगले राजस्व चुहावटमा संलग्न भई नेपाल सरकारलाई एक करोड २३ लाख ६९ हजार भन्दा बढी रुपैयाँ बराबरको हानी भएकोले सोही रकम बराबर जरिवाना र कैद सजायको मागसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगले मोरङको सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ मा गछिया खोलाबाट बालुवा–गिट्टी उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार १५१.५० (भ्याट बाहेक) रकममा ठेक्का सम्झौता गरेको र सो ठेक्का बापत बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रु. १ करोड २३ लाख ६९ हजार  आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरी राजस्व छली गरिएकोले  मुद्दा दर्ता गरिएको जनाएको छ ।

अनुसन्धानका क्रममा कर अधिकृत आले र निर्माण कम्पनीका प्रबन्ध निर्देशक बस्नेतबिच मिलेमतो गरी झुटा लिखत बनाई राजस्व छली गरिएको र नेपाल सरकारलाई हानी पुर्‍याइएको प्रमाण भेटिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button