तपाईँ सुन्दै हुनुहुन्छः

झापा महिला गोल्डकप : विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

भद्रपुर, झापा । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज दुधे रङ्गशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

खेलको सुरुवाती चरणदेखि नै बल पोजेसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गरिरह्यो । 

खेलको १६औँ मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै अग्रता दिलाइन् । ३३औँ मिनेटमा विमला चौधरीले हेडरमार्फत गोल गरिन् । पहिलो हाफको इन्ज्युरी समयमा राष्ट्रिय खेलाडी विमला विकले कर्नर किकबाट आएको बलमा सानदार फिनिसिङ गर्दै आर्मीको अग्रता ३–० मा पुर्‍याइन् ।

यस्तै ८५ औँ मिनेटमा विमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अवस्थामा पुर्‍याइन् । त्यसपछि ९० औँ मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै टोलीको अग्रता ५–० बनाइन् । इन्ज्युरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडर गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६–० को सहज जित दिलाइन् ।

खेलको प्लेयर अफ द म्याच विमला चौधरी घोषित भइन् । उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन् ।

योसँगै एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सङ्कटा फुटबल क्लब तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button