तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा सेनाको विशेष कार्यक्रम

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । काभ्रेपलाञ्चोकस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा बिहीबार सेनाले राष्ट्र सङ्घको ८०औँ स्थापना दिवस मनाएको हो ।  

कार्यक्रममा सेनाले शान्ति स्थापनार्थ आपतकालिन अवस्थामा उद्धार, पुनःस्थापना, सुरक्षित स्थानान्तरण, प्राथमिक उपचारजस्ता विषयमा प्रस्तुतीकरण गरेको थियो ।  

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल, शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रमासमेत पहिलो स्थानमा छ । 

संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत हाल विश्वका विभिन्न १० वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय १९ जना शान्ति सैनिकहरू कार्यरत छन् । विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैनिकहरू घाइते भएका छन् ।

कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथिवृन्द, अधिकृत, तथा अन्य दर्जाको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button