तपाईँ सुन्दै हुनुहुन्छः

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

काठमाडौँ ।  पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरूलाई सुझाव दिनुभएको छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच आज यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्ष समेत रहनुभएका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । 

“यो रूपान्तरित आन्दोलनलाई संस्थागत गर्न औपचारिक रूपमा सरकारसँग लिखित सम्झौता गर्ने तर्फ जोड दिनुहोस्”, उहाँले भन्नुभयो, “संस्थागत गर्नुभएन भने यो ऐतिहासिक आन्दोलन बिलाएर जाने खतरा छ ।”

साथै उहाँले जेनजीका विभिन्न प्रश्नको जवाफ दिनुभएको थियो । पहिलो चरणको संविधान लेखन विफल भएको र दोस्रो चरणका संविधान लेखनमा आफ्नो पार्टीको शक्ति कमजोर भएकाले संविधान अपुरो भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अब यो अपुरो संविधानलाई पुरा गर्ने काम जेनजीको हो ।” 

पार्टीका संयोजक दुर्गा सोबले विगतमा पार्टीले समाज सुहाउँदो मुद्दामा विचार विमर्श गर्दै आएको बताउँदै अब जेनजी आन्दोलनले देखाएको रूपान्तरणकारी मार्गमा समेत सहकार्य गरेर वैकल्पिक राजनीतिक शक्तिको रूपमा देखा पर्ने बताउनुभयो । 

कार्यक्रममा सान्तेन राई, प्रभात लाभ, अर्णव चौधरी, विकास रसाइली, अमित खनाल ऊर्जा, प्रदिप पाण्डे, माजिद अन्सारीलगायतका जेनजी समूहका अगुवाले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button