जनकपुर–ढल्केवर व्यापारिक मार्गमा तीन वटा आकाशे पुलको निर्माण सुरु

जनकपुरधाम । जनकपुर–ढल्केवर ६ लेन व्यापारिक राजमार्गमा तीन वटा आकाशे पुलको निर्माण कार्य सुरु भएको छ ।
सरकारको करिब साढे १० करोडको लगानीमा सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामले सो आकाशे पुलको निर्माणका लागि ठेक्का लगाएपछि अहिले निर्माण सुरु भएको हो ।

व्यापारी राजमार्गको रूपमा रहेको सो राजमार्गमा अत्यधिक पैदल यात्रीको चाँप रहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक तथा सखुवा चोकमा गरेर दुई वटा र सोही सडक खण्डको लक्ष्मीनिया गाउँपालिकाको बजार चोकमा एक वटा आकाशे पुलको निर्माण गर्ने हुन लागेको हो ।
क्षिरेश्वरको महिला विकास चोकमा ३ करोड ३५ लाख, सखुवा चोकमा ३ करोड ५७ लाख तथा लक्ष्मीनियाका आकाशे पुलको निर्माण ३ करोड ४२ लाख भ्याटसहितको लागतमा दुई वटा निर्माण कम्पनीले आकाशे पुलको निर्माणको लागि ठेक्का पाइ काम सुरु गरेको सडक डिभिजन कार्यालय मुजेलियाका प्रमुख डिभिजनल ईन्जिनियर दरोगा प्रसादले जानकारी दिनुभयो ।
यसै आर्थिक वर्षको असार भित्रमा निर्माण सम्पन्न गर्ने सो आकाशे पुलको उचाइ ५.६ मिटर तथा लम्बाई २९.४ मिटर र पुलको चौडाइ ३ मिटर रहेको सो कार्यालयका साईट ईन्जिनियर उज्जवल झाले जानकारी दिनुभयो ।
आकाशे पुलको प्रयोग गरेर सडकबाट वारपार गर्न सजिलो हुने र यसले हुने दुर्घटनामा कमी आउने विश्वास सडक डिभिजन कार्यालयको रहेको छ ।

विश्वास जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले पूर्व पश्चिम लोकराजमार्ग भएर मधेस प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने सो सडकमा पैदल यात्रीको लागि निर्माण हुन लागेको आकाशे पुलको निर्माण भएपछि सवारी दुर्घटनामा कमी आउने बताउनुभयो ।
आकाशे पुलको निर्माण भइरहेको ठाउँमा ठूला हाट बजार, विद्यालय रहेका कारणले सडक काट्दा धेरैको ज्यान जाने गरेको छ । यसले पैदल यात्रीलाई ठुलो राहत मिल्ने क्षिरेश्वरका स्थानीयवासी विनय साहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्