तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला सङ्ग्रहालयको अवलोकन 

कतार (दोहा) । कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यहाँस्थित कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । 

सो अवसरमा राष्ट्रपति पौडेललाई सङ्ग्रहालयका अधिकारीहरूले स्वागत गर्दै त्यहाँको बारेमा अवगत गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । 

राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आइपुग्नुभएको हो । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आउनुभएको हो । 

उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गर्नुभयो । उहाँले सम्मेलन अन्र्तगत यहाँ आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण: गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई समेत सम्बोधन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको थियो ।  

यसअघि, उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको छ ।

संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । 

कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनुहुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button