पोखराको दिगो पर्यटनका लागि मेडिकल र वेलनेस टुरिजम प्रवर्द्धन गर्न सुझाव

पोखरा । पोखरालाई स्वास्थ्य तथा आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिनु भएको छ । प्राकृतिक सुन्दरता, शान्त वातावरण र स्वास्थ्य पूर्वाधारका दृष्टिले पोखरामा यस किसिमको पर्यटनका लागि अथाह सम्भावना रहेको सोमबार पोखरामा आयोजित एक कार्यक्रममा सहभागी वक्ता एवं विज्ञहरूले दाबी गर्नु भएको हो ।
दिगो पर्यटन र गुणस्तरीय पर्यटनको लागि पनि अब स्वास्थ्य तथा आरोग्य पर्यटनको प्रवर्द्धन गर्न आवश्यक भएको खाँचो औलाइएको छ । पोखरा महानगरपालिका र मेडिकनेक्ट पोखराको सहकार्यमा आयोजित राष्ट्रिय स्तरको कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरूले मेडिकल र वेलनेस टुरिजमलाई दिगो पर्यटनको नयाँ गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सुझाव दिनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा स्वास्थ्य, प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई एकसाथ जोड्न सकिने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पोखरा ध्यान, योग र आरोग्यसँगै स्वास्थ्य सेवा प्रवर्द्धन गर्न सकिने प्राकृतिक सहर हो। अब यसलाई वेलनेस गन्तव्यका रूपमा विकास गर्नुपर्छ ।”
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले नेपाल स्वास्थ्य र वेलनेस पर्यटनका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउँदै मापदण्ड तयार गरी योजनाबद्ध ढङ्गले अगाडि बढ्न सुझाव दिनुभयो। उहाँका अनुसार, “पोखराको प्राकृतिक वातावरण, शान्ति र स्वच्छताले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सक्छ ।”
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले विश्वकै वेलनेस गन्तव्य बन्ने क्षमता पोखरामा रहेको उल्लेख गर्दै, विगतमा मणिपाल शिक्षण अस्पतालमार्फत विदेशी नागरिकहरूलाई आकर्षित गरेको उदाहरण प्रस्तुत गर्नुभयो। उहाँले मेडिकल अध्ययन र उपचार दुवै क्षेत्रले नेपालको जिडिपीमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो ।
मेडिकनेक्ट पोखराका प्रबन्ध निर्देशक डा. गिरिधारी शर्माले गत वर्ष नेपालमा आएका ११ लाख पर्यटकले पर्यटन क्षेत्रमार्फत करिब ७.५ प्रतिशत जिडिपीमा योगदान पुर्याएको जनाउँदै, मेडिकल र वेलनेस टुरिजमलाई जोड्न सके यो योगदान ९ देखि १० प्रतिशतसम्म पुग्ने सम्भावना रहेको बताउनुभयो ।
त्यस्तै आइसीपीडी नेपालका अध्यक्ष डा. पूर्णकान्त अधिकारी, मेडिकनेक्ट पोखराका अध्यक्ष विष्णु भुषाल, नेकपा (माओवादी केन्द्र) कास्कीका संयोजक विश्वप्रकाश लामिछाने नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतका वक्ताहरूले सरकार, निजी क्षेत्र र स्थानीय निकायबीच सहकार्य गरी वेलनेस टुरिजमको नीति, मापदण्ड र पूर्वाधार निर्माणमा केन्द्रित हुन सुझाव दिनु भएको छ । पोखराको पर्यटन अब केवल दृश्य र साहसिकतामा सीमित नहोस्, बरु स्वास्थ्य, आरोग्य र मानसिक सन्तुलन खोज्ने विश्वभरका पर्यटकका लागि नयाँ गन्तव्यको रूपमा स्थापित गर्नुपर्ने समय आएको बताइन्छ ।








प्रतिक्रिया राख्नुहोस्