यलुङ रि हिमाल आरोहणको क्रममा ३ विदेशीको मृत्यु, ८ बेपत्ता
दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणको लागि गएको १५ जनाको टोलीमध्ये ३ जना विदेशीको मृत्यु भएको र ८ जना बेपत्ता भएको स्थानीयले बताएका छन् । चार जना घाइते भएको स्थानीयको भनाई छ ।

मृतक तीन जना मध्य फ्रान्सका आरोही क्यारोल फुचसको मात्र नाम खुलेको स्थानीय प्रशासनले जनाएको छ । अन्य दुई जनाको नाम नखुलेको बताइन्छ । बेपत्ता मध्य नेपाली गाइड पदम तामाङ, इटलीका पाउलो कोको र क्यानेडियन नागरिक मार्कोस डि मार्सेलोसको मात्र पहिचान खुलेको छ । चार जना घाइते मध्य नेपाली गाइड निमाग्याल्जेन शेर्पाको मात्र पहिचान खुलेको स्थानीय प्रशासनले जनाएको छ ।
उनीहरू गत कार्तिक ११ गते आरोहणको लागि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल तर्फ गएका थिए । सोमवार बिहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि प्रस्थान गरेको उक्त टोली बिहान ८ बजेतिर यलुङ रि हिमालको चुचुरोमा पुग्ने क्रममा हिमपहिरोमा परेका थिए ।
गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष निमगेली शेर्पा आफूले पनि यलुङ रि हिमाल आरोहणको क्रममा केही आरोही बेपत्ता भएको र केहीको मृत्यु भएको खबर पाएको र त्यसबारे थप जानकारी लिने प्रयास गरिरहेको बताउनुभयो ।
उनीहरू बेपत्ता भएको खबर ना गाँउमा १० बजेतिर थाहा भएको र लगतै उद्धारको लागि हेलिकप्टर मगाइएको भए पनि कानुनी प्रक्रिया पुरा गर्दा ४/५ घण्टासम्म पनि हेलिकप्टर आउने अवस्था नभएको बेपत्ता आरोहीका साथीहरूको गुनासो छ । हेलिकप्टर बेलामै आउन सकेको भए उद्धारमा सहज हुने उनीहरू बताउँछन् ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले यलुङ रि हिमाल आरोहणका क्रममा १५ जना मध्य ८ जना बेपत्ता भएको र तीन जनाको मृत्यु भएको खबर प्राप्त भएको र उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको बताउनुभयो ।
बेपत्ताको खोजी र घाइतेको उद्धारको लागि सोमवार दिउँसो लामाबगरबाट नेपाली सेनाको ३५ जना, सशस्त्र प्रहरी बलको १० जना र नेपाल प्रहरीको ५ जनाको टोली यलुङ रि हिमाल क्षेत्रमा गएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्