छथरजोरपाटी गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएको छ ।
गाउँपालिकाले गत असोज २१ गते अस्थायी र करार कर्मचारीको सम्झौता रद्द गरेपछि निकालिएका कर्मचारीले तालाबन्दी गरेका हुन् । गाउँपालिकाले अर्थ मन्त्रालयको पत्र अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारका कर्मचारी राख्न नपाउने पत्र पाएपछि गत असोज २१ गते एक सूचना जारी गरेर अस्थायी र करार कर्मचारीको सम्झौता रद्द गरेको थियो । सो पछि निकालिएका अस्थायी र करार सम्झौताका कर्मचारीले असोज २६ गते प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बहादुर घिमिरेलाई चार बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । माग सम्बोधन नभएपछि तालाबन्दी गर्नुपरेको सम्झौता रद्द भएपछि निकालिएका कर्मचारी प्रदीप ओझाले बताउनुभयो ।

अस्थायी वा करारका कर्मचारीले असोज २६ गते बुझाएको ज्ञापन पत्रमा चालु आर्थिक वर्षको बजेटमा सम्पूर्ण करारका कर्मचारीका लागि स्रोत सुनिश्चितता भएकोले निरन्तरता दिनुपर्ने, असोज २१ गतेको सूचनामा दरबन्दी बाहेकका कर्मचारीको हकमा मात्रै लागु हुने उल्लेख हुनुपर्ने माग गरेका थिए । यस्तै कार्यालयले दरबन्दी बाहेकका कर्मचारी हटाएकोमा पुन विज्ञापन गरी सोही पदमा कर्मचारी राख्न नपाउने र दरबन्दी बाहेक पनि लामो समयदेखि कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीको योगदानको सम्मान गर्दै बिदाइ गरिनुपर्ने माग गरेका थिए । तर, गाउँपालिकाले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गरेको उनीहरूले बताएका छन् ।

गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले माथिको पत्रअनुसार निर्णय भएकोले पछाडि हट्ने सम्भावना नरहेको बताउनुभयो । उहाँले तालाबन्दीको विषयमा सुरक्षा निकाय र गृह मन्त्रालयमा जानकारी गराएको बताउँदै सबै सुरक्षाको जिम्मा माथिको निकायले गर्ने बताउनुभयो । आन्दोलन, जुलुस, नारा, अनसनसम्म गाउँपालिकाले समाधान गर्ने भएपनि तालाबन्दी गाउँपालिकाभन्दा माथिको विषय भएकाले माथिल्लो निकायमा जानकारी गराएर सुरक्षाको माग गरेको अध्यक्ष सुब्बाको भनाइ छ ।

गाउँपालिकाले सम्झौता रद्द गरेपछि स्वास्थ्य क्षेत्र र शिक्षाको क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारी बिदा हुँदा वडा नं. २ र ५ का ४ वटा स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा खुल्ने गरेका छन्। जसले गर्दा स्वास्थ्य चौकीहरूमा आवश्यक औषधि, प्रयोगशाला सेवा र बर्थिङ सेन्टर (सुत्केरी गराउने २४ घण्टे अनमी सेवा) समेत ठप्प भएपछि सामान्य औषधी लिने देखि सुत्केरी गराउन धनकुटा सदरमुकाम जानुपर्ने बाध्यता आएको छ। गाउँपालिकाले अस्थायी र करारका कर्मचारी हटाउँदा स्वास्थ्य सेवा मात्रै होइन, केही बालविकास केन्द्र शिक्षकविहीन बनेका छन् भने विद्यालयमा जनशक्तिको अभाव भएको छ।








प्रतिक्रिया राख्नुहोस्