तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा पासपोर्ट बनाउनेको भीड, लाइनमा सेवाग्राही

रौतहट ।  छठ पर्व र लगातारको झरी वर्षा सकिएसँगै आइतबारदेखि खुलेको जिल्ला प्रशासन कार्यालय रौतहटमा राहदानी (पासपोर्ट) बनाउन आएका सेवाग्राहीहरूको भीड लागेको छ ।

कार्यालय खुलेको पहिलो दिनदेखि नै पासपोर्ट बनाउने सेवाग्राहीहरूको लामो लाइन लागेको छ । बिहानैदेखि लाइनमा उभिएका सेवाग्राहीहरूलाई आवेदन दर्ता र बायोमेट्रिक प्रक्रिया पूरा गर्न घण्टौँ पर्खिनुपरेको छ । विदेश जान चाहने युवाहरू विशेष रूपमा लाइनमा देखिएका छन् ।

टिकुलियाका स्थानीय अभिषेक रौनियारले बिहान १० बजे लाइनमा बसेर लामो प्रतीक्षापछि मात्र पालो आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “एकछिन लाइन छोड्दा पालो मिचिन्छ कि भन्ने डरले कतै नगई पालो पर्खिएँ।”

गुजरा नगरपालिका–५ का शेख मुकुलले पनि झण्डै साढे पाँच घण्टा लाइनमा बसेर पालो पाएको अनुभव सुनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालय गौरका नायब सुब्बा राम नरेश साहका अनुसार लामो बिदा र छठ पर्वका कारण केही दिन काम रोकिएकोले सेवाग्राहीको भीड बढेको हो । उहाँले भन्नुभयो, “अहिले दैनिक ५० देखि ६० वटा नयाँ पासपोर्ट बनिरहेका छन् ।  फर्म भर्ने देखि बायोमेट्रिकसम्म कर्मचारीले नै गर्नुपर्ने भएकाले केही ढिलाइ भइरहेको हो।”

साहका अनुसार यो हप्ता भिड बढी रहने अनुमान गरिएको छ भने अर्को हप्तादेखि सेवा नियमित हुँदै भीड क्रमशः घट्दै जानेछ ।

रौतहटमा पछिल्ला वर्षहरूमा विदेश रोजगार र पढाइका लागि जाने युवाहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गएसँगै पासपोर्ट सेवा लिन आउनेको भीड पनि निरन्तर बढ्दो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button