तपाईँ सुन्दै हुनुहुन्छः

मनास्लु जाने पदमार्ग खुला, वेश क्याम्पमा फसेका चार जनाको उद्धार दुई जनाको खोजी कार्य जारी

गोरखा । विगत चार दिनदेखि बन्द रहेको मनास्लु क्षेत्रका जाने पदमार्ग आजबाट खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना प्रकाशित गरी जानकारी दिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङग बरालका अनुसार सुरक्षा निकाय, मनास्लु संरक्षण क्षेत्रका अधिकारीहरूसँग जानकारी लिएर यात्रा गर्न सकिने छन् । विचमा भत्किएका बाटो स्थानीयको सहयोगमा निर्माण भएका छन् । मौसममा सुधार भएकाले माथि भएका पर्यटकहरूलाई तल आउन र तल भएका पर्यटकहरूलाई माथि जान खुला गरिएको बरालले जानकारी दिनुभयो । 

लामो समय बन्दा गर्दा कसैको भिसा सकिने कसैको प्लेन टिकटको म्याद सकिने हुनाले पर्यटकहरूको हितका लागि छिटो गरी बाटो मर्मत गरी सुरक्षा सावधानीका साथ यात्रा गर्न सुझाव प्रदान गरिएको बरालको भनाई छ ।

शनिबार देखि मौसममा सुधार भएर हिमाली क्षेत्र यात्रा गर्न सकिने अवस्थामा रहेको चुमनुब्रि  गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो । सामागाउँमा बसेका पर्यटकहरू साम्दो र साम्दोमा बसेका पर्यटकहरू धर्मशाला तर्फ गइरहेका लामाको भनाई छ । उनीहरुलाई स्थानीय पथप्रदर्शकहरूको साथ रहेकाले लार्के पासका लागि पूर्ण सुरक्षा रहेको साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताउनुभयो । 

यसैबिच  पाङ्वारी पिक हिमालमा अलपत्र परेका ३ इटालियन र ३ नेपाली मध्ये  आज बिहान ९ः ५५ बजेको समयमा कैलाश एयरको हेलिकप्टरबाट एक जना इटालियन र तीन जना नेपालीको उद्धार गरी साम्दोमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

पाङ्वारी पिक हिमालमा अलपत्र परेका ३ इटालियन र ३ नेपाली मध्ये आज मिति २०८२/०७/१६  गते ०९ः५५ बजेको समयमा तल्लो वेश क्याम्पमा रहेका कैलाश हेलिकप्टरबाट १ इटालियन र ३ नेपालीको उद्धार गरी साम्दोमा ल्याइएको । पेम्बा रेन्जी शेर्पा  वर्ष ३५, दावा छिरी शेर्पा वर्ष ३१, पासाङ तामाङ वर्ष ३१ र  भेल्टर पेरलिनो  वर्ष ६५ का  इटालियन  नागरिक रहेका छन् । 

पाङ्वारी पिक वेश क्याम्प प्रथममा अलपत्र परेका अन्य २ जना इटालियन नागरिकको खोजी कार्य भइरहेको श्रेष्ठले बताउनुभयो । उनीहरूको उद्धारका लागि बिहानै देखि कैलाश एयरको हेलिकप्टर परिचालन  भएको छ । पाङ्वारी पिक हिमाल साम्दोबाट पूर्वतर्फ चिनको सीमा क्षेत्रमा पर्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button