तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो नेपालगञ्ज नेशनल स्विमिङको उपाधि सगरमाथा क्लबले जित्यो

नेपालगञ्ज । ललितपुरको सगरमाथा स्विमिङ क्लबले दोस्रो नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पियनसिपको उपाधि जितेको छ । नेपालगञ्ज स्विमिङ क्लबले आयोजना गरेको  प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक ल्याएर उपाधि जितेको हो । 

यो जितमा क्लबका अरेक कर्माचार्य एक्लैले ७ वटा स्वर्ण र रिजा अवालेले ५ पदक जित्नुभएको थियो । कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत हुनुभएको थियो । उहाँहरूलाई जनही पाँच(पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अङ्गुर जिसीले प्रथम ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अंक ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो । बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अङ्कसहित तेस्रो भएको छ । त्यसैगरी लिटिल एञ्जल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगञ्जले ३५, कोशी प्रदेशले २०, काठमाडौँको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगञ्जले १०, राई स्कुल काठमाडौँले ९, नेपालगञ्ज स्विमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अंक ल्याएको क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button