माईखोला–राजदुवाली सडक खण्ड पुनः अवरुद्ध
इलाम। मर्मत सम्पन्न भएको एक दिनमै माईखोला–राजदुवाली सडक खण्ड पुनः अवरुद्ध भएको छ।
लोकसेवा आयोगको परीक्षा लक्षित गर्दै हिजो मर्मत गरी आज दिउँसोदेखि साँझ ५:३० बजेसम्म साना सवारीका लागि अस्थायी रूपमा खुलाइएको मेची राजमार्गअन्तर्गतको उक्त सडक खण्ड रातिको वर्षासँगै पुनः बन्द भएको हो।
लगातारको वर्षाले सडकका विभिन्न स्थान भासिनु, चर्किनु र हिलो बगानुका कारण यातायात पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी प्रमुख एक नारायण कोइरालाले जानकारी दिनुभयो। वैकल्पिक सिमल–गोलाइ मार्ग पनि अवरुद्ध भएकाले हालका लागि आवागमन असम्भव बनेको छ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले मौसम स्थिर भएपछि मर्मत र पहिरो पन्छाउने कार्य तुरुन्त सुरु गर्ने तयारी भइरहेको बताउनुभयो।
प्रशासन र सुरक्षातर्फबाट नागरिकलाई आवश्यक सूचना नआएसम्म सो मार्ग प्रयोग नगर्न अनुरोध गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्