पश्चिम सेती जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ हुँदै
'विद्युत् उत्पादनसँगै रोजगारी र आर्थिक अवसरको आशा'
डडेल्धुरा ।सुदूरपश्चिमको बहुचर्चित र सबैभन्दा ठूलो जलविद्युत् आयोजनाका रूपमा रहेको ८०० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् परियोजना सञ्चालनका लागि भारतीय कम्पनी नेशनल हाइड्रोपावर कर्पोरेशन (एनएचपीसी) ले प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गर्ने भएको छ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै“ पश्चिम सेती परियोजना ८०० मेगावाटको वातावरण संरक्षण ऐन,२०७६ तथा वातावरण संरक्षण नियमावली,२०७७ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) को मस्यौदा प्रतिवेदन सम्बन्धी सुदूरपश्चिमका विभिन्न स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको जनाउनुभएको छ ।
सुनुवाइ कार्यक्रम सुदूरपश्चिमका चार जिल्लामा
एनएचपीसीका समूह वरिष्ठ प्रबन्धक राजकुमारका अनुसार, सार्वजनिक सुनुवाइका कार्यक्रमहरू सुदूरपश्चिमका डडेल्धुरा, डोटी, बैतडी र बझाङ जिल्लाका प्रभावित स्थानहरूमा सञ्चालन गरिने छन्।
कार्यक्रम तालिका यसप्रकार छः
कार्तिक २४ गते – डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ शिरोड
कार्तिक १८ गते – बझाङको केदारस्युँ गाउँपालिका–देउरा बजार र थलारा गाउँपालिका–१ रेगम
कार्तिक २० गते – डोटीको सायल गाउँपालिका–१ धरमघर र बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाढ
कार्तिक २२ गते – डोटीको शिखर नगरपालिका–१० बानिढुङ्ग्री शैन र आदर्श गाउँपालिका–५ तलारासेरा
आयोजनाको लामो इतिहास र असफल सम्झौता श्रृंखला
पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्न २०५४ सालमा अस्ट्रेलियाको स्मेक कम्पनीले झन्डै डेढ दशकसम्म ओगटेर राखेको थियो । सो कम्पनीले काम अघि बढाउन नसकेपछि सरकारले स्मेकसँग सम्झौता तोडेको थियो ।

सो जलविद्युत् आयोजना निर्माण गर्नका लागि २०६८ सालमा चीनको थ्री गर्जेजसँग सरकारले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सो कम्पनीले पनि निर्धारित समयमा वित्तीय व्यवस्थापन गर्न नसकेपछि आयोजना निर्माणबारे अन्योल नै थियो । २०७९ साउन २३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष एके सिंहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
स्थानीयको अपेक्षा-“अब त बन्ने हो भन्ने विश्वास”
स्थानीयवासीहरूको भनाइमा, पश्चिम सेती जलविद्युत् आयोजना सुदूरपश्चिमको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण योजना हो र यसपटक आयोजना अगाडि बढ्ने उच्च अपेक्षा गरिएको छ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ शिरोडका का स्थानीय पदम साउँदले सानो छँदा देखि पश्चिम सेती बन्छ भन्ने सुन्दै आएको स्मरण गर्दै अहिले सम्म पनि बन्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयाे । उहाँले भन्नुभयो
“वारी डडेल्धुरा, पारि डोटी, उतातिर बैतडी र सोझै अगाडि बझाङ — यति धेरै भूगोल एउटै ठाउँबाट देखिन्छ र बीचमा बग्ने सेती नदी प्रकृतिको वरदान हो, तर पश्चिम सेती अझै बन्न सकेको छैन।”
त्यस्तै, नवदुर्गा गाउँपालिका–४ का अध्यक्ष पदमबहादुर विष्टले पनि “आफू नजन्मँदैदेखि पश्चिम सेती बाँध बन्ने भनाइ सुन्दै आएको” बताउँदै, “धेरै कम्पनीले सम्झौता गरे पनि काम अघि नबढ्दा स्थानीयहरू निराश भएको” बताउनुभयाे।
विद्युत् उत्पादनसँगै रोजगारी र आर्थिक वृद्धि हुने अपेक्षा
पश्चिम सेती परियोजना निमार्णले गति लिन सकेमा यस वाट विद्युत् उत्पादनका साथै वृहत् रोजगारीको समेत अवसर रहने कुरामा स्थानीयहरू आसावादी छन् ।








प्रतिक्रिया राख्नुहोस्