जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको तयारी सुरु
जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरधाममा धुमधामका साथ सप्ताहव्यापी रुपमा मनाइने श्रीसीताराम विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ ।

आगामी मङ्सिर ९ गतेबाट मनाइने विवाह पञ्चमी महोत्सवको तयारीका विषयमा आज जानकी मन्दिरको शिश महलमा सर्वपक्षीय बैठक सम्पन्न भएको हो । मन्दिरका मूल महन्थ राम तपेश्वर दास वैष्णवको अगुवाइमा सम्पन्न भएको बैठकले यस वर्षको विवाह पञ्चमीलाई भव्य र सभ्य रुपमा मनाउने निर्णय भएको हो ।
बैठकमा जानकी मन्दिरका मूल महन्थ दासले विवाह पञ्चमीमा भारत तथा नेपालका विभिन्न स्थानबाट साधु सन्त, महन्थ सहितका पाहुनाहरू आउने भएकाले नगरवासीलाई सरसफाइमा ध्यान दिनका लागि आग्रह गर्दै विवाह पञ्चमी महामहोत्सव सबै जनकपुरधाम बासीको साझा धरोहर भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
विवाह पञ्चमी महोत्सवलाई भव्यता प्रदान गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरिएको छ । वैठकले शान्ति सुरक्षा, प्रचार–प्रसार, बजार व्यवस्थापन, रंगभूमीमा गेट पण्डाल व्यवस्था, यातायात, ट्राफिक तथा स्वास्थ्य उपचार जस्ता विभिन्न विषयमा अलग–अलग उपसमितिहरू बनाइएको छ ।
सर्वपक्षीय बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष शीतल प्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाही, नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सुनिल कुमार महतो लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यस वर्षको श्रीसीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत मङ्सिर ४ गते नगर दर्शन, मङ्सिर ५ गते फूलबारी लिला, मङ्सिर ६ गते धनुष यज्ञ, मङ्सिर ७ गते तिलकोत्सव, मङ्सिर ८ गते मटकोर, मङ्सिर ९ गते स्वयमवर तथा शुभ विवाह महोत्सव र मङ्सिर १० गते रामकलेवा हुने भएको छ ।
यस क्षेत्रकै ठूलो धार्मिक र सांस्कृतिक पर्व विवाह पञ्चमीलाई महामहोत्सवलाई यस क्षेत्रको धार्मिक तथा संस्कृति पर्यटनसँग जोडेर विकास गर्न सकेको खण्डमा यसले यस क्षेत्रको मात्र होइन देशकै धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्नुका साथै देशका अर्थतन्त्रलाई गति दिने सहभागीहरूले बताउनुभयो ।
सहभागीहरूले जनकपुरधामको मणिमण्डप सहितका अन्य धार्मिक क्षेत्रमा विवाह पञ्चमीलाई विस्तार गर्नु पर्ने आवश्यकतामा जोड दिनुभएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्