तपाईँ सुन्दै हुनुहुन्छः

उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह

किमाथाङ्का(सङ्खुवासभा) । सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आग्रह गरेको छ । 

कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो । 

प्रतिकूल मौसमका कारण मङ्गलवार देखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उहाँले सबैमा अनुरोध गर्नुभयो ।

उत्तरी क्षेत्रको चार हजार भन्दामाथि निरन्तर हिमपात भइरहँदा चिसो बढेको, खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीसमेत अभाव हुनसक्ने भन्दै मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्नु उपयुक्त हुने प्रजिअ थपलियाको भनाइ छ । 

मकालु आधार शिविरमा नेपालीसहित दुई सय बढी पर्वतारोही शिविरमा रहेका प्रशासनले जनाएको छ । प्रजिअ थपलियाका अनुसार सत्तरी जना विदेशी नागरिकसहित दुई सयभन्दा बढी नेपाली पर्वतारोही अहिले आधार शिविरमा छन् । जिल्लाको मकालु, सभापोखरीसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेको उहाँले जानकारी दिनुभयो ।

निरन्तर वर्षा भइरहँदा पहिरो जानसक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत प्रशासनले सबैमा अनुरोध गरेको छ । पहिरोको जोखिममा रहेका परिवारलाई सचेत रहन आग्रह गर्दै प्रजिअ थपलियाले उच्च जोखिममा रहेका परिवारको स्थानान्तरणमा सहजीकरण गर्न १० वटै स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

बाढी पहिरोको जोखिम भए वा विपद्को जोखिमको सम्भावना भएमा जिल्ला प्रहरी कार्यालय वा  जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button