सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय छलफल, निर्वाचन तयारी मुख्य एजेन्डा
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज सरकार, राजनीतिक दल र नागरिक समाज (जेनजी) का प्रतिनिधिहरूसँग त्रिपक्षीय छलफल गर्न लाग्नुभएकाे छ। निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक यस्तो छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे सुरु हुनेछ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले आगामी निर्वाचन सफल बनाउन राजनीतिक दल र सरोकारवाला पक्षहरूसँग निरन्तर संवाद र समन्वय जारी राखेको छ। उहाँले भन्नुभयाे, “निर्वाचनको तयारीका लागि सरकार सबै पक्षसँग चरणबद्ध वार्ता गरिरहेको छ।”
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच निर्वाचनबारे प्रारम्भिक छलफल भएको थियो। सो छलफलमा सबै दलले आवश्यक वातावरण बनाएर निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।
प्रधानमन्त्री कार्कीको आह्वानमा हुन लागेको आजको बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेता र नागरिक समाजका अगुवाहरू सहभागी हुने अपेक्षा गरिएको छ। बैठकमा निर्वाचन मिति, सुरक्षा व्यवस्था, राजनीतिक सहमति र जनसहभागितासम्बन्धी विषयमा छलफल केन्द्रित हुने बताइएको छ।
लामो समयपछि भएको यस्तो औपचारिक त्रिपक्षीय राजनीतिक संवादले देशभर निर्वाचनको सकारात्मक माहोल बनाएको सरोकारवालाहरूको भनाइ छ। सरकारले यसअघि निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा परामर्श गरी आवश्यक तयारी र वातावरण निर्माणका लागि पहल गरिरहेको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्