मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबिच भेटवार्ता
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबिच मङ्गलवार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।

भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले सङ्घीयतालाई सुदृढ बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले नेपाल-बेलायतबिचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै, पछिल्ला राजनीतिक परिवर्तनपछि मुलुकमा प्रत्यक्ष र अप्रत्यक्ष जटिलता देखा परेको र त्यसले प्रशासनिक तथा भौतिक संरचनामा असर पारेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले अघि सारेका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको र बेलायती सरकारबाट निर्दिष्ट कार्यक्रमहरूलाई पनि स्थायित्वका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले पाँच वर्षे रणनीतिक योजना तयार पारेको जानकारी दिँदै उहाँले पाँच लाख रुपैयाँभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट कार्यान्वयन गरेर पारदर्शिताको अभ्यास गरिएको बताउनुभयो । उहाँले आगामी पाँच वर्षभित्र सुशासन र सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
भेटका क्रममा बेलायती दूतावासका प्रतिनिधि एन्ड्रु लङले नेपाल र बेलायतबिचको सम्बन्ध अझ सुदृढ बनाउने र दुवै सरकार मिलेर सुशासन, विकास र संघीय अभ्यास सुदृढीकरणका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना, तथा दोस्रो आवधिक योजनाको कार्यान्वयनमा बेलायती सहयोग रहने बताउनुभयो ।
भेटमा प्रदेश सरकारका सचिव कविन्द्र नेपालसहितका अधिकारीहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्