तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा छठ उल्लास: उदाउँदो सूर्यलाई अर्घ्य

नेपालगञ्ज। नेपालगन्जको बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको विधिवत् समापन गरिएको छ । ठूलो सङ्ख्यामा उपस्थित व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

सूर्यको उपासना गर्दै मनाइने आस्थाको पवित्र पर्व छठ मनाउन बागेश्वरी मन्दिर परिसरभित्रको तलाउलाई यस वर्ष पनि “छठीघाट” का रूपमा झकिझकाउ बनाइएको थियो । हरेक वर्ष पूजा गर्नेको सङ्ख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको रौनक बढ्दै गएको छ । छठ पर्वमा पूजा गर्नेहरू बढ्दा केही वर्षयता बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गर्दछ । तलाउ क्षेत्रमा यस वर्ष पनि टेण्ट सजावट, बिजुली बत्तीको सजावट, बाजागाजा, सांस्कृतिक भजन मञ्चको व्यवस्थापन, घाटको सरसफाइ गरिएको थियो । सोमबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

पहिला पूर्वी तराईका बासिन्दाले धूमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको छ । चार दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रूपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button