तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा आज छठ पर्व धुमधामका साथ मनाइँदै

पोखरा ।  पोखरामा आज (सोमबार) देखि छठ पर्व धुमधामका साथ मनाइँदैछ ।

सूर्य उपासना र आस्थाको पर्व छठलाई फेवातालदेखि सेतीनदी हुँदै मन्दिर र पोखरीसम्म धार्मिक उल्लासका साथ मनाउने तयारी पूरा गरिएको हो ।

तराई–मधेश समुदायका श्रद्धालुहरूले पोखरामै सहज वातावरणमा सूर्यदेवको आराधना गर्न सकुन् भन्ने उद्देश्यले चार प्रमुख स्थल—फेवाताल किनारस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर, नारायणथान मन्दिर, भद्रकाली मन्दिर तलको कमलपोखरी र सेती–कालिखोला सङ्गमस्थित रिठ्ठाघाट त्रिवेणीधाम—मा विशेष व्यवस्थापन गरिएको छ ।

यी स्थलहरूमा सरसफाइ, झिलिमिली बत्ती, फूलमाला र टेन्ट जडान गरी पूजाका लागि आवश्यक तयारी पूरा भएको छठ पूजा समितिहरूले जनाएका छन्। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिने कार्यक्रम तय गरिएको नारायणथान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिनुभयो ।

नेपाल भारत व्यवसायी संघ (एन.बी.) छठ पूजा समितिको आयोजनामा हुने केदारेश्वर क्षेत्रको मुख्य पूजाको तयारी पूरा भएको समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनु भयो । आज अपराह्न साढे ३ बजेदेखि साँझ ७ बजेसम्म र मङ्गलवार बिहान साढे ३ बजेदेखि ७ बजेसम्म छठ पूजा सम्पन्न हुने उहाँले जनाउनु भयो । पूर्वअध्यक्ष भुनेस कुमारका अनुसार पछिल्ला वर्षमा पोखरामै बसोबास गर्ने तराई–मधेश समुदायका श्रद्धालुहरूले पोखरामै छठ पर्व मनाउने परम्परा स्थापित गर्दै आउनु भएको छ । “अब छठ पर्व पोखराको सांस्कृतिक जीवनको एक सुन्दर अङ्ग बनिसकेको छ,” कुमारले थप्नुभयो ।

रिठ्ठाघाट त्रिवेणीधाम छठ पूजा समितिका अध्यक्ष हरिश्चन्द्र प्रसाद कुशवाहाले सेती र कालिखोला किनारमा टेन्ट, बत्ती र श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइएको बताउँदै सोमबार रातिदेखि खाजा र मङ्गलवार बिहान प्रसाद वितरणका लागि स्वयंसेवक टोली खटाइएको जानकारी दिनुभयो ।

त्यस्तै, भद्रकाली छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माले पञ्चमीका दिन व्रत बस्ने (खड्ना) परम्परा अनुसार केराको खम्बा, उखु, सुन्तला, भोगटे लगायतका फलफूलका बोटहरूले मण्डप सजाउने र सूर्यदेवलाई भगवानका रूपमा अर्घ दिई मनोकामना पूर्तिको कामना गरिने बताउनुभयो ।

पछिल्ला वर्षहरूमा तराई–मधेश मूलका श्रद्धालुसँगै पहाडी समुदायका मानिसहरू पनि सूर्यदेवको पूजा–आराधनामा सहभागी हुन थालेका छन् । मनोकामना पूरा हुने विश्वासका साथ यो पर्वले पोखराको सांस्कृतिक विविधता र धार्मिक सौहार्दलाई अझ गाढा बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button