केदारनाथ मेला प्रारम्भ
अछाम । लगातार दश दिनसम्म चल्ने अछाम को सबैभन्दा ठुलो केदारनाथ मेला यस वर्ष आज बाट प्रारम्भ भएको छ । केदारनाथ देवताको पूजाआजा सहित कार्तिक शुक्ल पञ्चमीदेखि चर्तुदशीसम्म मेला लाग्ने गर्छ ।

‘जामाको जात्रा’ नामले प्रख्यात उक्त मेलामा देउताको पूजा आजा र धामीको नाच, देउडा खेलसँगै मेला लाग्ने गर्दछ । कमलबजार नगरपालिका –७ जामागाउँमा लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताको धेवर लगाई त्रयोदशीका दिन १७ गते राती ‘खला नाच्ने’ परम्परा रहेको उक्त देवताका पुजारी खगेन्द्र उपाध्यायको भनाइ छ ।
त्यसअघिका आठ दिनमा हरेक दिन देउता काम्ने, पूजाआजा गर्ने साँझ साझ धेवल लगाउने र बेलुकी देउडा समेत खेल्ने प्रचलन रहेको स्थानीय भीम खतिवडाले जानकारी दिनुभयो । तिथिको घटबढको कारण यस वर्ष कार्तिक १७ गते खला नाच्ने र १८ गते केदार माडुमा ह्युम गरिने बताइएको छ ।
छडाल देवताको पूजा भने १९ गते पूर्णिमाको दिन हुने भएको छ । डोटेली संस्कृतिमा आधारित देवता नाचका लागि छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलाली समेतबाट दर्शनार्थीहरु आउने गरेको काम सुरु भैसकेको छ ।
केदारनाथ देवताको दर्शन र पूजापाठ गर्दा सन्तान, अन्न र पशु लाभ हुने धार्मिक विश्वास रहेको छ । केदारको मेलाका लागि जिल्ला बाहिर बसाइ रहेका स्थानीय पनि गाउँतिर फर्केका छन् । पशु बलि नदिइने यस मेलामा दूध र घ्युको मात्र प्रसाद ग्रहण गर्ने गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्