तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् विस्तार: दुई मन्त्रीको सपथ

काठमाडौँ । नवनियुक्त दुई मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सपथ लिनुभएको हो । यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ भएको हो ।

डा गौतम स्वास्थ्य मन्त्रालयका पूर्व सचिव हुनुहुन्छ भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुनुहुन्छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरूलाई राष्ट्रपति पौडेलले आज नियुक्ति गर्नुभएको थियो । 

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, मन्त्रीगण, प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारी लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button