सुदूरपश्चिममा चौलोले प्रसिद्ध “बडाल जाँत” हुँदै
डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमै चौलोले प्रसिद्धि कमाएको बडाल जाँत कार्तिक १५ गते सम्पन्न हुन लागेको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं २ मा अवस्थित बडाल जाँत हरेक बर्ष कार्तिक शुक्ल दशमीमा रतेडी र अर्को दिन जाँत हुने गरेको छ । सोही अनुसार कार्तिक १४ गते रतेडी र १५ गते दिउँसेडी जाँत हुने स्थानीय संस्कृतिका जानकार कर्णबहादुर मालीले बताउनुभयो ।

लाटा गन्याप देवताको भक्ति स्वरूप मनाइने चौलोले प्रख्यात बडाल जाँतमा बाजागाजा, भोक्कर, देवलका भाला, गुर्जा, खुकुरी र तरवार हातहातमा समातेर खेलिने गरिन्छ । माली गाउँबाट मुल देउरो आउने र यसबाहेक देउवाहरूको एउटा देउरो आउने, रमाईल, लाटा भूमीदेउली, बडाल, सुतारी गाउँबाट आउने देउरोहरु दिउँसेडीको बिहान १ बजेदेखी २ बजे सम्म मन्दिरमा पुग्ने गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज बहादुर देउवाले बताउनुभयो ।
सुदूरपश्चिममा बैतडीको देहिमाण्डौ दाईन दमाहाले प्रसिद्ध मानिन्छ भने बडाल चौलो र भोक्करले प्रसिद्ध जाँतका रुपमा मानिँदै आएको स्थानीय संस्कृतिका जानकारहरू बताउँछन । वडा अध्यक्ष देउवाका अनुसार “बडालजाँत हेर्न देश तथा भारतका केही ठाउँहरू र सुदूरपश्चिमका अधिकांश ठाउँहरूबाट दर्शनार्थीहरु आउने गरेका छन् । ”
मेलामा स्थानीय कृषि उपज बस्तुहरूको राम्रो ब्यापार हुने गरेको स्थानीयहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्