तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्री खरेलको प्राथमिकता: दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

काठमाडौँ ।  पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकलाई ठूलो राहत भयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतापछि तिलिचो आसपासमा भ्वाइस र डाटाको सेवा पुगेको हो ।

तिलिचोमा फोरजी सेवा विस्तारपछि प्रतिक्रिया दिँदै मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दुर्गम क्षेत्रमा टेलिकमको पहुँच पुर्‍याउने अभियानअन्तर्गत तिलिचोमा फोरजी सेवा पुगेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “सरकारले दुर्गम क्षेत्रमा भ्वाइस र डाटा पुर्‍याउने लक्ष्य लिएको छ, सोहीअनुसार तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन भएको हो, अब त्यहाँ पुग्ने पर्यटक र स्थानीयलाई ठूलो राहत भएको छ । अब हाम्रो उद्देश्य टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रमा सेवा विस्तार हो ।”

तिलिचोमा मात्रै होइन मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेदेखि सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको तलकोटमा पनि पहिलो पटक फोरजी सेवा विस्तार भएको छ । तलकोट गाउँपालिका-४ बुङ्गाडाँडामा बिटिएस टावर जडान गरेर पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याइएको तलकोटमा रहनुभएका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीले जानकारी दिनुभयो । उहाँका अनुसार तलकोट(१ र ४ सेवा सुरु भइसकेको छ भने जयपृथ्वी नगरपालिका(१ र ५ मा पनि चाँडै फोरजी सेवा सञ्चालन गरिनेछ उहाँको भनाइ छ । 

तलकोट(४ का अध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयलाई आपतकालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा सहज भएको बताउनुभयो ।

गत असोज ३१ गते नै दार्चुलाको मार्मा गाउँपालिका(५ मा नेपाल टेलिकमले टुजी र फोरजी सेवा विस्तार गरेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार उक्त स्थानमा पहिले एउटा मात्रै टावर रहेकामा नयाँ टावर स्थापना गरी उक्त सेवा सञ्चालनमा ल्याइएको छ ।

प्रमुख गुरुङले भन्नुभयो, “पहिला सञ्चारको समस्या थियो । डाँडा, खोँचतिर टेलिफोनको टावर टिप्दैनथ्यो । अब स्थानीयले टेलिकमको भ्वाइस र डाटा सहज रुपमा उपयोग गर्न पाएका छन्, यसले उनीहरूको दैनिक जीवनमा सञ्चार आदानप्रदान, डिजिटल भुक्तानीलगायतमा सहज भएको छ ।”

दार्चुलाको लेकम गाउँपालिकाको सर्मौली भन्ने स्थानमा टावर निर्माण भई यथाशीघ्र टुजी र फोरजी सेवा सञ्चालनमा आउनेछ । मालीकार्जुन गाउँपालिकामा पनि टावर बनिसकेको र छिट्टै सेवा सञ्चालनमा आउने तयारी छ ।

त्यसैगरी, डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ । कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको बारेकोटमा गत असोज ९ गते चट्याङका कारण अवरुद्ध टेलिफोन सेवा हालै सञ्चालनमा आएको छ । बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएपछि १० हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका थिए ।

उक्त विषयमा मन्त्रालयमा प्राप्त गुनासोपछि मन्त्री खरेलले तत्कालै समन्वय र ताकेता गरेर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिनुभएको थियो । टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन भएको हो । स्थानीय प्रकाशमान सिंहले अवरुद्ध टेलिकमको सेवा सञ्चालन भएसँगै स्थानीयलाई ठूलो राहत मिलेको बताउनुभयो ।

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार अगाडि बढाएको जनाएको छ । कर्णाली प्रदेशभर फोरजी तथा फाइबरनेटको पहुँच विस्तार गरिने र हालसम्म ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको निर्देशनालयले जनाएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका र हुम्लाको हिल्सामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको टेलिकमले जनाएको छ । सञ्चार मन्त्रालयले जुनसुकै ठाउँमा सञ्चार सम्पर्क अवरुद्ध भएमा तत्काल मर्मत तथा पुनः सञ्चालनका लागि नेपाल टेलिकमको १४९८, एनसेलको ९००५ र मन्त्रालयको सिधा ९८५१४१०१०१ ह्वाट्सएप नम्बरमा खबर गर्न अनुरोध पनि गरेको छ ।

राष्ट्रिय सञ्चार नीति, २०४९ मा ग्रामीण क्षेत्रमा सञ्चार पहुँच बढाउने लक्ष्य लिइएको छ । सोहीअनुरुप सबै जिल्लामा दूरसञ्चार सेवा पुगे पनि केही स्थानीय तहमा अझै यो सेवाको पहुँच विस्तार हुन सकेको छैन । उक्त नीतिमा राष्ट्रिय विकासको पूर्वाधारका रुपमा दूरसञ्चार सेवाको विकास गर्न यस सेवालाई अत्यावश्यक सेवा विकसित एवं विस्तार गर्दै जाने भनिएको छ । आमजनतालाई उपयोगी, दक्ष, भरपर्दो र निर्बाध सञ्चार सेवा उपलब्ध गराउन उपयुक्त अत्याधुनिक सञ्चार प्रविधिको प्रयोग गर्दै जाने पनि नीतिमा उल्लेख छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा दूरसञ्चार सेवा विस्तारलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ । उहाँले ती क्षेत्रमा रहेको नेपाल टेलिकमका कार्यालय प्रमुख, फिल्ड इन्जिनियरलगायतलाई सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि ताकेता र आवश्यक निर्देशन दिँदै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग समन्वयन गरिरहनुभएको छ ।

मन्त्री खरेलले जनतालाई आधारभूत सञ्चार सेवालगायतको प्रत्याभूत गराउन सरकारले सबैखाले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले दुर्गम क्षेत्रहरूमा भ्वाइस र डाटा पुर्‍याउने लक्ष्य लिएको छ, सोहीअनुरुप पछिल्लो समय दार्चुला, बझाङ, जाजरकोट, मनाङको तिलिचोलगायत क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ । यो सेवाले स्थानीय र पर्यटकलाई सहयोग पुग्नेछ । टेलिफोन र इन्टरनेट नपुगेका देशका दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि लागिपरेका छौँ ।”

दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तारले सञ्चार सम्पर्कमा सहज हुनुका साथै डिजिटल भुक्तानी पनि सहज भएको छ । विशेषगरी ती क्षेत्रमा जानु पर्यटकहरूका लागि भुक्तानी गर्न समस्या भएकामा अहिले इन्टरनेट सेवा विस्तारले सहज भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मोबाइल ब्रोडब्याण्डअन्तर्गत नेपाल दूरसञ्चार कम्पनीको बजार हिस्सा ५५ दशमलव ९६ प्रतिशत र एनसेलको ४४ दशमलव ०४ प्रतिशत पुगेको छ । अर्थात् गत भदौसम्म नेपाल टेलिकममा मोबाइल प्रयोगकर्ता एक करोड ५३ लाख ५४ हजार ८०४ र एनसेलका एक करोड ३९ लाख ८१ हजार ८७५ पुगेका छन् ।

प्राधिकरणका अनुसार हाल हाल फिक्स्ड ब्रोडब्याण्ड (वायर्ड) ४८ दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा पुगेको छ भने फिक्स्ड ब्रोडब्याण्ड ९वायरलेस० शून्य दशमलव ४१ प्रतिशतमा पुगेको छ । साथै मोबाइल ब्रोडब्याण्ड ९१ दशमलव ५५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भएको छ ।

साथै मुलुकभर हालसम्म फोरजी सेवा ८८ दशमलव ६८ प्रतिशत, फाइभर सेवा ४८ दशमलव ८१ प्रतिशत, टुजी सेवा १० दशमलव ३६ प्रतिशत र थ्रीजी सेवा दुई दशमलव ८६ प्रतिशतमा पुगेको छ ।

खरेल सञ्चारमन्त्रीमा नियुक्त भएपछि मन्त्रालयले सुशासन, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवद्र्धन र युवाहरूको संलग्नताका सम्बन्धमा  जेनजी युवाका प्राविधिक क्षेत्रका जानकारसँग सुझाव लिएको थियो । डिजिटल रूपान्तरणसम्बन्धी अन्तरक्रियामा सञ्चारमन्त्री खरेलले सूचना प्रविधिको अधिकतम प्रयोग गरी सुशासन प्रवर्द्धन र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइने बताउनुभएको थियो । उहाँले सुशासनका लागि डिजिटल रूपान्तरणसहित डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धनमा युवापुस्ताको सुझाव लिएर आगामी रणनीति र कार्ययोजना बनाउन पहल गर्ने बताउनुभयो ।

नेपालमा विद्यमान ‘डिजिटल डिभाइड’ कम गर्न प्रत्येक नागरिकमा इन्टरनेट र मोबाइल फोनको पहुँच पुर्‍याउन र प्रविधिमा साक्षर बनाउन प्राधिकरणले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरेको छ ।

सूचना प्रविधिको विकाससँगै यसबाट सिर्जित वहुआयामिक अवसरले देशभित्र र विदेशमा रोजगारीको अवसर बढ्न गई देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । सार्वजनिक सेवा प्रवाह प्रक्रिया थप सहज, सुलभ र पारदर्शी बन्न पुगेको छ भने टेलिमेडिसिन, इ-लर्निड, इ-कमर्सलगायतका सेवामा भएको विकास विस्तारले दुर्गम तथा विकट स्थानमा बसोबास गर्ने आमनागरिकले स्वास्थ्य, शिक्षा जस्ता आधारभूत क्षेत्रमा सामाजिक तथा आर्थिक लाभ प्राप्त गर्ने अवसर सृजना भएको छ ।

सञ्चारमन्त्री खरेलले विपद्को समयमा प्रविधिको प्रयोगमार्फत गरिएको पूर्वसूचना प्रणालीले महत्वपूर्ण काम गरेको र जनधनको क्षति न्यूनीकरण भएको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायत क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button