तपाईँ सुन्दै हुनुहुन्छः

गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु (तस्बिरहरु)

काठमाडौँ I पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारमा छठ पर्वको तयारी सुरु भएको छ । 

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वका लागि यस क्षेत्रमा छठीघाट निर्माण सुरु गरिएको हो । गुह्येश्वरी छठ समितिले यस क्षेत्रमा करिब २०० वटा घाट निर्माण गर्न लागेको छ । 

बाँस ल्याएर छठघाट निर्माणका लागि काम धमाधम भइरहेको छ । समितिले यस क्षेत्रको नदीलाई सफा बनाउन थालेको छ । यस वर्ष कात्तिक १० गते सोमबार छठ पर्वको मुख्य दिन हो । त्यस दिन अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्यदान गरिन्छ । कात्तिक ११ गते मङ्गलवार  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ अन्त्य हुन्छ । 

गुह्येश्वरी मन्दिर अघिको बाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा सिँगारेर छठ घाट बनाइँदै छ । छठपर्वमा उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बस्छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताउनुभयो । 

सोमबार बिहान स्नान गरी चोखोनितो गरेर बस्ने व्रतालुले मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

तस्विर: मिलन ढुङगाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button