करारका कर्मचारी हट्दा बुढीगंगाका सात स्वास्थ्य संस्था बन्द
बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकाले करार ज्यालादारी र अस्थायी तर्फका कर्मचारीहरूलाई हटाएपछि सात वटा स्वास्थ्य संस्था बन्द भएका छन्।

नगरपालिकाले ४६ जना स्वास्थ्यकर्मीको करार म्याद नथप्ने निर्णय गरेसँगै अम्कोट, मुसी, ताप्रा, डेल्टा, बाम्का, मोटाबाडा र सेलापाखा गाउँका स्वास्थ्य चौकीहरू बन्द भएका हुन्।
बन्द भएका स्वास्थ्य संस्थामध्ये सेलापाखा स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर समेत सञ्चालनमा थियो।
स्वास्थ्यकर्मी हटेसँगै नगरपालिकामा कार्यरत एक मात्र मेडिकल अधिकृत पनि हटेपछि बुढीगंगा अब डाक्टरविहीन नगरपालिका बनेको छ।
स्थानीयका अनुसार अब उपचारका लागि अछामको बयालपाटा अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ।
नगरपालिकाको निर्णयले स्वास्थ्य सेवा ठप्प हुँदा स्थानीयवासी चिन्तित बनेका छन्।नगरपालिकाले कार्तिक १ गते देखि लागु हुने गरी पालिका भित्रका १ सय २० जना करार,ज्यालादारी र अस्थायी कर्मचारीको म्याद नथप्ने निर्णय गरी हटाएको थियो।
प्रतिक्रिया राख्नुहोस्