कुसुमीया सामुदायिक वनले जित्यो वडा कप फुटबलको उपाधि
बाँके । दीपावलीको उल्लाससँगै राप्ती सोनारी गाउँपालिका–७ सहिद दलबहादुर घर्ती मगर खेलमैदान हर्ष र हुटिङले गुन्जियो । सातौं अन्तर सामुदायिक वन उपभोक्ता समिति स्तरीय वडा कप फुटबल प्रतियोगिताको उपाधि कुसुमीया सामुदायिक वन उपभोक्ता समितिले जितेपछि मैदान रमाइलो उत्सव स्थलमा रूपान्तरण भयो ।

प्रतियोगिताको फाइनलमा कुसुमीया सामुदायिक वनले मनडपवा सामुदायिक वन उपभोक्ता समितिलाई पराजित गर्दै विजेता बनेको हो । उपविजेता बनेको मनडपवा सामुदायिक वन उपभोक्ता समितिले पनि खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भयो ।
खेलको दौरान मोहन थारुले ८ वटा गोली गर्दै उत्कृष्ट खेलाडी घोषित हुँदै सम्मानित भए ।
विजेता टोलीका खेलाडीहरूलाई वडाध्यक्ष रामलखन थारुले १५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो भने उपविजेता टोलीले ८ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा सात वटा सामुदायिक वन उपभोक्ता समितिहरूले सहभागिता जनाएका थिए । दीपावलीको अवसरमा आयोजना गरिएको यो प्रतियोगिताले खेलकुदसँगै सामुदायिक एकता र उत्सवको सुन्दर सन्देश फैलाएको सहभागीहरूको भनाइ छ।








प्रतिक्रिया राख्नुहोस्