मार्तडी कोल्टी सडक खण्डमा पुनःबस सेवा सुचारु

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीदेखि पूर्वीउत्तरी भेगको कोल्टीसम्म मङ्गलवारबाट पुनः बस सेवा सञ्चालनमा आएको छ । बर्षात सुरु भएसँगै असारको पहिलो सातादेखि रोकिएको बस सेवा चार महिनापछि पुनः सुचारु भएको हो ।
बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराले सडकखण्ड मर्मत कार्य सम्पन्न भएसँगै आजबाट नियमित बस सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बर्षातका कारण अवरुद्ध बनेको सडकलाई मर्मत गरी यातायात सञ्चालनमा ल्याइएसँगै अब नियमित बस सेवा सञ्चालन हुने र त्यस क्षेत्रका नागरिकलाई यातायातमा सहजता हुने छ । मङ्गलवार सदरमुकाम मार्तडीबाट महाकाली यातायात प्रा।लि।को बस कोल्टीका लागि छुटेको छ । यसअघि गत वर्षको पुस महिनाबाट मार्तडी–कोल्टी बस सेवा पहिलो पटक सञ्चालनमा आएको थियो ।
मार्तडी–कोल्टी सडकखण्ड जिल्लाको पूर्वीउत्तरी भेगका चार वटा स्थानीय तहका नागरिकको मुख्य यातायात मार्ग हो । यस मार्ग हुँदै छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका बासिन्दाले पनि आवतजावत गर्ने गरेका छन् ।
करिब चार महिनादेखि अवरुद्ध यो सडकखण्डको ठाउँ ठाउँमा गएको पहिरो पन्छाएर असोज दोस्रो सातादेखि मर्मत कार्य सुरु गरिएको थियो । बुढीनन्दा नगरपालिका, बडीमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यालय बाजुरा र पूर्वाधार विकास कार्यालयको सहकार्यमा सडक पुनः सञ्चालनमा ल्याइएको हो ।








प्रतिक्रिया राख्नुहोस्