तपाईँ सुन्दै हुनुहुन्छः

घोराहीमा १३ जना जुवाडे पक्राउ

दाङ। प्रहरीले घोराहीमा १३ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। आइतबार राति घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित होटल ‘टी थ्री’ र नजिकैको एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

होटलको कोठा नम्बर १०८ मा जुवा खेलिरहेका घोराही–१८ का वडाअध्यक्ष भरतमणी अर्यालसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नगद ३ लाख ४५ हजार ९१५ रुपैयाँ बरामद गरिएको छ।

पक्राउ पर्ने अन्यमा घोराही–१८ का पूर्व वडासदस्य कृष्णबहादुर घर्ती, नारायणप्रसाद अधिकारी, माधव भण्डारी, विक्रम केसी, लंकबहादुर बुढा, सागर बुढा, तुलसीपुर–१२ का प्रबिन रावत र राप्ती गाउँपालिका–२ का तेजप्रसाद आचार्य रहेका छन्।

यस्तै, घोराही–१५ काठेकोहलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका चार जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद ६० हजार ६४० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा अनुप कशौधन, ज्ञानेन्द्र रिजाल, एकराज खत्री र सोहेलमान मनसुरी रहेका छन्। प्रहरीका अनुसार उनीहरूविरुद्ध आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button