अवरुद्ध मेची राजमार्ग राजदुवाली खण्ड १४ दिनपछि सञ्चालनमा
इलाम । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग १४ दिन पछि सञ्चालनमा आएको छ । माइखोला –राजदुवाली सडकखण्ड मर्मत पछि गएराती ९ बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भयो ।

सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि सडक खुलाउन सफल भइएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनु भयो ।
निकै ठूलो पहिरो खस्नाका साथै दिनहुँ भासिने समस्याले पहिरो पन्छाउन समय लागेको डिभिजन प्रमुख भट्टराईको भनाइ छ । पहिरो क्षेत्रमा ठूला सवारीहरू एकपटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन भट्टराईले अनुरोध गर्नुभयो ।

राजमार्ग सञ्चालन भएपछि इलामवासीलाई सहज भएको छ । साथै पाँचथर र ताप्लेजुङबाट झापा जान/आउन सहज भएको छ । मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड केही दिन अघि सञ्चालन आएको थियो ।
सो सडकखण्डअन्तर्गत माईजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरेर सडक सञ्चालन गरिएको हो । यस सडकमा सवारी चाप बढे सँगै सडक हिलो हुने भासिने समस्या देखिन थालेको थियो ।

वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर केचना–कञ्चनजङ्घा मार्ग भने अझै सञ्चालनमा आउन सकेको छैन । सो सडकअन्तर्गत पुवाखोला खोलाको बेलिब्रिज बाढीले बगाएको छ सो क्षेत्रमा स्थानीयले काठको पुल निर्माण गरेका छन् भने बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि अवरुद्ध छ ।
स्थानीय प्रशासनले यस सडक प्रयोग नगर्न आग्रह गरेको छ यद्यपि भाँचिएको पुल माथि यातायात सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्