तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन सुरक्षाका लागि सरकार सक्रिय, आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं। आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई तीव्रता दिन सरकारले आज केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने बैठकमा गृह र रक्षा सचिवसहित चारै सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकले एकीकृत निर्वाचन सुरक्षा योजनाको प्रगति समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ।

सरकारले निर्वाचनलाई प्रमुख प्राथमिकतामा राख्दै सम्पूर्ण संयन्त्रलाई तयारीमा सक्रिय बनाएको जनाएको छ। शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतलनिवासमा प्रधानमन्त्री, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखबीच निर्वाचनका लागि राजनीतिक वातावरण र सुरक्षा सुदृढीकरणबारे गहन छलफल भएको थियो।

गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। यसमा चारै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा रहेका छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिव हुनुहुन्छ।

गृहमन्त्री अर्यालका अनुसार उक्त समितिले तयार गरेको सुरक्षा योजना प्रत्येक जिल्लामा पठाइनेछ र प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले त्यसको कार्यान्वयन गर्नेछ।

“हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ,” मन्त्री अर्यालले भन्नुभयो, “सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ, निर्वाचन आयोगसँग सघन समन्वय भइरहेको छ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button