तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्न नसक्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा उहाँले प्रहरीका एक हजार २०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको तथा साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान कठिन हुने बताउनुभएको हो । 

“जेनजी भाइबहिनीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि राखेका माग जायज छन्, तर त्यसका नाममा हिंसा मच्चाउने तत्त्वले गरेका अराजक क्रियाकलापको हामी समर्थन गर्न सक्दैनौँ । समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनुहुँदैन । हामी लोकतान्त्रिक प्रणालीमा छौँ । हाम्रो सुरक्षा र स्वतन्त्रताको रक्षा राज्यले गर्नुपर्छ । नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आउनुहुँदैन”, अध्यक्ष ओलीले भन्नुभयो, “हामी कुनै हतियार र कमजोर शक्ति होइनौँ । लोकतन्त्रका लागि लडेर आएका दल हौँ । लोकतन्त्र र शान्ति सुव्यवस्थाको पुनः स्थापना गर्न लाग्नेछौँ । त्यसका लागि एमाले सक्रिय रहनेछ ।”

उहाँले विघटित प्रतिनिधिसभाको पुनः स्थापना आफ्नो पार्टीको अडान भएको जनाउँदै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनपछि अध्यक्ष ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा पुग्नुभएको हो । आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button