तपाईँ सुन्दै हुनुहुन्छः

मित्र र दुस्मन छुट्टाउन जेन्जी युवालाई संयोजक प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्टाउन नसक्दा बलिदानका उपलब्धिहरूलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)केन्द्रीय कार्यालय, पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा आयोजित शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जेन्जी युवाहरूलाई भन्नुभयो “तपाईँहरू आफ्नो मित्र दुस्मन को हो छुट्ट्याउनु होला । हामीलाई पनि पहिल्यै आतङ्ककारी भनिएको थियो ”

जनताको हक, हित र अधिकारका लागि लड्नेहरूलाई आतङ्ककारी भन्ने प्रवृत्ति यसअघि पनि रहँदै आएको उल्लेख गर्दै संयोजक प्रचण्डले भन्नुभयो “एउटा विचारले भन्छ—‘तपाईँहरूको आन्दोलनलाई आतङ्ककारी । यो त हामीलाई पनि भनिएको थियो। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको हकमा लड्दा हामीलाई आतङ्ककारी भनिएको थियो। आज फेरि तपाईँहरूलाई पनि त्यस्तै शब्दमा व्याख्या गरिएको छ। यस्तो प्रवृत्तिबाट सतर्क हुन जरुरी छ।”

उहाँले थप भन्नुभयो, “क्रान्तिमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आफ्नो मित्र र शत्रु छुट्टाउन जान्नु। जसले तपाईँलाई माया गर्छ, साथ दिन्छ—‘उसलाई चिन्न सक्नुपर्छ। दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुन्छ।’

देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । संयोजक प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्र्याकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्र्याकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताउनुभयो। “निर्वाचनबाट आउने नयाँ संसदले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ। जनताको अपेक्षा पूरा गर्न हामी तयार छौँ,” उहाँले भन्नुभयो।

उहाँले आगामी निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताउँदै, “निर्वाचन नगरीकन देशमा अर्को अराजकता आउन सक्छ। त्यसैले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी छ,” भन्नुभयो।

आधुनिक प्रविधि र युवा पुस्ताको क्षमतालाई सही दिशामा परिचालन गर्न सक्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “डिजिटाइजेसनको युगमा तपाईँहरूको टेक्निकल क्षमता र हाम्रो विचारको अनुभवलाई एउटै ठाउँमा जोड्न सके, दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन।”

उहाँले वर्तमान अन्तरिम सरकार निर्वाचन गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। संयोजक प्रचण्डले पुनः सबैलाई मिलेर राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न आह्वान गर्नुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका नेताहरू, ट्रेड युनियनका नेता कार्यकर्ताहरू, विभिन्न सङ्घसंस्थाका सदस्यहरू, बुद्धिजीवी, पत्रकार तथा युवा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button