तपाईँ सुन्दै हुनुहुन्छः

जेन–जी आन्दोलनमा जलेको भवन पुनर्निर्माण

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई हस्तान्तरण

रौतहट । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएर ध्वस्त बनेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन स्थानीयवासीले पुनःनिर्माण गरी शनिबार औपचारिक रुपमा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

स्थानीयवासीले स्वैच्छिक चन्दा सङ्कलन र श्रमदानमार्फत पुनःनिर्माण गरेको उक्त भवन शनिबार एक समारोहबीच प्रहरीलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण समारोहमा स्थानीय, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सो अवसरमा भवन निर्माणका क्रममा सङ्कलित रकम र खर्चको विस्तृत विवरण समेत सार्वजनिक गरिएको थियो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङ्गले स्थानीयको सहयोग र सामूहिक प्रयासमा पुनःनिर्माण सम्पन्न भई प्रहरीलाई प्रशासनिक कार्य र अनुसन्धानमा सहज भएको बताउनुभयो । उहाँले भवन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने अभियन्ताहरूलाई धन्यवाद दिनुभयो ।

सोही कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जय कार्कीले प्रहरीको भवन केवल सुरक्षाकर्मीको संरचना मात्र नभई समुदाय र सुरक्षाबिचको आपसी विश्वास र सहअस्तित्वको प्रतीक भएको बताउनुभयो । 

भवन पुनःनिर्माणका लागि स्थानीयवासीले नगद, जिन्सी सामग्री र श्रमदानमार्फत सहयोग गर्नुभएको थियो । पुनःनिर्माण अभियानका हिसाब राख्ने रुपेश जैसवालले आम्दानी र खर्चको विस्तृत विवरण सार्वजनिक गर्दै सबै सहयोगीप्रति आभार प्रकट गर्नुभयो ।

त्यस्तै, निर्माण सम्पन्न भवन हर्क मोक्तानले औपचारिक रुपमा प्रहरीलाई हस्तान्तरण गर्नुभयो । भवन हस्तान्तरणसँगै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अब पुनः निर्मित भवनबाट नियमित सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो । 

भवन पुनः निर्माणमा विशेष चासो राखी अग्रसर भूमिका निर्वाह गर्नुहुने शिवराम राउत, बलराम भण्डारी, तेजविक्रम कार्की लगायतका अभियन्ताहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा चन्दा दाताहरूको नाम सार्वजनिक गरिनुका साथै उहाँहरूलाई धन्यवाद पत्र प्रदान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button