तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार मन्त्रालय र जेनजी युवाबीच प्रविधि विषयमा छलफल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवद्र्धन र युवाहरूको संलग्नताका विषयमा जेनजी युवाका प्रविधि क्षेत्रका प्रतिनिधिहरूसँग सुझाव लिएको छ ।  

मन्त्रालयमा आज भएको छलफलमा सञ्चारमन्त्री जगदिश खरेल जेनजी युवाहरूको आन्दोलनका क्रममा उठेको महत्वपूर्ण विषय सुशासन र आवश्यक प्रविधि सम्बन्धी कामलाई प्रभावकारी बनाउन प्रविधि क्षेत्रमा सम्वद्ध युवाहरूबाट आएको सुझाव महत्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री खरेलले विपद्को समयमा प्रविधिको प्रयोगमार्फत गरिएको पूर्व सूचना प्रणालीले महत्वपूर्ण काम गरेको र जनधनको क्षति न्यूनीकरण भएको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताउनुभयो ।

छलफलमा सञ्चार सचिव राधिका अर्यालले प्रविधिको प्रयोग र विकासका लागि सञ्चार मन्त्रालयले विभिन्न योजना अगाडी बढाइरहेको सन्दर्भमा युवाहरूबाट आएका महत्वपूर्ण सुझावलाई समेटेर अगाडी बढ्ने बताउनुभयो ।

छलफलमा जेनजी युवाका प्रविधि क्षेत्रका प्रतिनिधिहरूले भ्रष्टाचाररहित समाज निर्माण र सुशासनको प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारहरूको प्रभावकारी प्रयोगमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रविधिको प्रयोग र विस्तारमा जोड दिनुपर्ने, देशका सबै भूभागमा मोबाइल नेटवर्कको प्रभावकारी विस्तार गर्नुपर्ने, इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्ने, डिजिटल अर्थतन्त्रका लागि नेपाल टेलिकमको सेवा र प्यान नम्बरलाई व्यवस्थित बनाउनुपर्ने, प्रभावकारी डाटा सेन्टर निर्माण गर्नुपर्ने, हेलो सरकार जस्ता टुटेका कार्यक्रम सुरुगरी आम नागरिकसँग जोडिनु पर्ने जस्ता सुझाव जेनजी प्रतिनिधिहरूले दिएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button